गएको सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सामूहिक हत्या गरिएकाहरुको बिहीबार दाहसंस्कार गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेपछि शव परिवारलाई बुझाइएको थियो ।

यस्तै बम बहादुर फियाकको परिवार भने आरुबोेटेमै दाहसंस्कार गरिएको छ । उनीहरुको दाहसंस्कारका लागि मिक्लाजुङ गाउँपालिकाले एक लाख रुपैया रकम समेत सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरुण राईले बताएका छन् ।

 

 

मिक्लाजुङ ३ आरुबोटेमा राती ९ जनाको सामूहिक हत्या भएको थियो । उक्त घटनामा परेर धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको थियो ।

९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने मिक्लाजुङ ८ को लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीले भने थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले हत्यामा संलग्न भनिएका मानबहादुर बाहेक अन्यको पनि चौतर्फी खोजी भइरहेको बताएका छन् ।

यसरी बचिन् १२ वर्षीया बालिका सीता

‘बोजु, बोजु ’ गहिरो निद्रामा रहेकी कान्छीमाया फियाकले मधुरो स्वर सुनिन् । आफूलाई नै बोलाएको ठम्याएपछि ‘को हो ?’ भनेर सोधिन् । ‘ढोका खोल्नू न,’ उताबाट आत्तिएको स्वर सुनियो ।

चकमन्न रातमा बाहिर पानी पर्दै थियो । आकाश गड्याङगुडुङ गर्दै थियो । यस्तो बेला को हो, के हो दोधार पर्दै कान्छीमायाले जसै ढोका खोलिन्, सीता खजुम बेगिएर घरभित्र छिरिन् ।
रगत देखेपछि कान्छीमायाले हत्त न पत्त ढोका बन्द गरी पनि हालिन् । उनले सोधीखोजी गरिन् ।

‘सबैलाई सखाप पार्‍यो ’ सीताले ओठ कमाउँदै सानो स्वरमा यति मात्र भन्न सकिन् । त्यसपछि पानी मागिन् । पानी बाहिर बरन्डामा थियो । आफैं डरले थरथरी भइसकेकी कान्छीमायाले ढोका खोलेर बाहिर जाने आँट गरिनन् । लगत्तै सीता बेहोस भएर ढलिन् । कान्छीमाया पनि डरले रातभर काँप्दै बसिन्।

भोलिपल्ट बिहान गाउँलेले कान्छीमायालाई बोलाए । उनले ढोका खोलेपछि थाहा पाइन्, करिब १० मिटर पर रहेको सीताको मावलीघरमा चार जनाको संहार भएछ। यो खबर आजको कान्तिपुर दैनिकमा अर्जुन रायमाझीले पाँचथरबाट लेखेका छन्।

मिक्लाजुङ–३, आरुबोटेस्थित घरमा सीताका बाजे बमबहादुर र बोजु बिर्छाहाङमा फियाक सधैं ५ बजेअगावै उठेर आगो फुक्थे । खसीबाख्रालाई घाँस हाल्ने गर्थे । मंगलबार बिहान भने ५ बजेसम्म पनि त्यस घरमा चहलपहल नदेखिएपछि छिमेकी पुगेका रहेछन् । जब त्यहाँ पुगे, ७४ वर्षीय बमबहादुर, उनकी श्रीमती बिर्छाहाङमा, कान्छी छोरी ३३ वर्षीया मनकुमारी, नातिनी १२ वर्षीया आसिकाका शव क्षतविक्षत देखे ।

५१ वर्षीया कान्छीमाया छिमेकमा भएको घटनापछि राम्ररी निदाएकी छैनन् । खाना रुचेको छैन । ‘अब कहाँ बस्ने, कसरी बस्ने ?’ चिन्तालेपिरोलिएकी छन् । मुकुन्डो लगाएर आएको व्यक्तिले खुकुरी प्रहार गर्न थालेपछि सीता भागेर कान्छीमायाको घर पुगेकी थिइन् । दौडने क्रममा लड्दा ढुंगाले उनको हातमा गहिरो चोट लागेको छ । दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

सीतालाई मानसिक दबाब नपरोस् भनेर प्रहरीले अरूसँग खासै कुराकानी गर्न दिएका छैनन् । १२ वर्षीया सीता मावलीघर बसेर स्थानीय स्कुलमा ९ कक्षा पढ्दै थिइन् ।

धामी बसिसकेपछि घटना
सोमबार राति बमबहादुरका माइली छोरीज्वाइँ जस्मिता र धनराजको घरमा धामी बोलाइएको थियो । राति करिब ११ बजेसम्म सेर्माको घरमा धामी बसेको जस्मिताकी जेठी दिदी दिलमाया लिम्बूले बताइन् । ‘धामी बसिसकेपछि घटना भएको रहेछ,’ उनले भनिन्।

वैशाख ३० गते धनराजको घरको नुनको बट्टामा सिसाका टुक्रा फेला परेको थियो । नुन मिसाएर पकाएको खाजा खाँदा ८ जना बिरामी भएका थिए । घरमा नराम्रो घटना भएपछि धनराज र जस्मिताले जोखाना देखाएर सोमबार राति धामी बसाएको दिलमायाले बताइन् ।

समाजकी अगुवा जस्मिता ढाका बुनाइको कुशल प्रशिक्षक थिइन् । उनले आफ्नै घरमा करिब एक दर्जन महिलालाई ढाका बुनाइ तालिम दिइरहेकी थिइन् । उनी नजिकैको आरुबोटे माविको व्यवस्थापन समिति सदस्य पनि थिइन् ।

हत्या घटनापछि बमबहादुर फियाकको घर भएको टोलका गाउँले राति एक्लाएक्लै सुत्न सकिरहेका छैनन् । बीभत्स घटना देखेका गाउँले राति एकै ठाउँमा भेला भएर सुत्न थालेका छन् ।
‘हामी आ–आफ्नो घरमा बस्न सकिरहेका छैनौं, भोक न निद्रा भएको छ,’ कान्छीमायाले भनिन्, ‘गाउँको मनोज फियाकको घरमा सबै गाउँले भेला भएर रात बिताउने गरेका छौं ।’

भिडियो हेर्नुहोस ।