गएको सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सामूहिक हत्या गरिएकाहरुको बिहीबार दाहसंस्कार गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेपछि शव परिवारलाई बुझाइएको थियो ।

यस्तै बम बहादुर फियाकको परिवार भने आरुबोेटेमै दाहसंस्कार गरिएको छ । उनीहरुको दाहसंस्कारका लागि मिक्लाजुङ गाउँपालिकाले एक लाख रुपैया रकम समेत सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरुण राईले बताएका छन् ।

मिक्लाजुङ ३ आरुबोटेमा राती ९ जनाको सामूहिक हत्या भएको थियो । उक्त घटनामा परेर धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको थियो ।
९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने मिक्लाजुङ ८ को लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले भने थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले हत्यामा संलग्न भनिएका मानबहादुर बाहेक अन्यको पनि चौतर्फी खोजी भइरहेको बताएका छन् ।

आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ ।

उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो ।

टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरकी श्रीमती सरसस्वती रिजाल, छोरी कृष्ण दुलाल, छोरा उमेश र उद्वव दुलाल गरी (पाँच जना) को ज्यान गएको थियो ।

भिडियो हेर्नुहोस ।