भारत– भारतमा धेरै कलाकार तथा खेलाडीहरु निर्वाचनमा उठेका थिए । यस पटकको लोकसभा चुनावमा धेरै कलाकारहरुले राम्रै नतिजा हात पारे । उनिहरु विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए। तीमध्ये कतिपय कलाकारले आफूलाई अब्बल राजनीतिज्ञ सावित गर्दै चुनाव जितेका छन् भने कतिपयले हार बेहोरेका छन्।

हेमा मालिनी
उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित हासिल गरेकी छिन्। उनी अघिल्लो निर्वाचनमा पनि विजयी भएकी थिइन्।

 

 

स्मृती इरानी
टेलिफिल्म अभिनेत्री रहेकी स्मृति इरानीले कंग्रेस अध्यक्ष राहुल गान्धीलाई अमेठि निर्वाचन क्षेत्रमा पराजित गरेकी छिन्।

उर्मिला मातोंडकर
चुनावको केही समयअघि कांग्रेसले अभिनेत्री उर्मिला मातोंडकरलाई उम्मेदवार बनाएको थियो। चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी उर्मिला मुम्बई चुनाव क्षेत्रबाट पराजित भएकी हुन्।

जया प्रदा
भाजपाकी उम्मेदवार जया प्रदा यूपीको रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन्। तर त्यहाँ समाजवादी पार्टीका नेता आजम खानसँग पराजित भइन्।

दिनेशलाल यादव
आजमगढबाट उम्मेदवार बनेका भोजपुरी फिल्म स्टार दिनेशलाल यादव निरहुवा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भएका छन्। निरहुवा भाजपाबाट उम्मेदवार बनेका थिए।

सनी देवल
भाजपाका उम्मेदवार अभिनेता सनी देवल पन्जावको गुरुदासपुर क्षेत्रबाट निर्वाचित भएका छन्। यसअघिका चुनावमा अभिनेता विनोद खन्नालाई भाजपाले यो क्षेत्रबाट उम्मेदवार बनाउँथ्यो।

हंसराज हंस
गायक हंसराज हंसले पनि भाजपाको तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट चुनाव जितेका छन्। यसअघि सो क्षेत्रबाट उदित राज भाजपाका सांसद थिए। उदित राज यसपटक भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए।

बाबुल सुप्रियो
गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भएका छन्। भाजपाबाट चुनाव लडेका बाबुलले टिएमसीकी मुनमुन सेनलाई हराएका हुन्।

सत्रुघन सिन्हा
भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भएका छन्। उनी भाजपाका रविशंकर प्रसादसँग पराजित भएका हुन्। उनी अघिल्लो लोकसभा चुनावमा भाजपाबाट विजयी भएका थिए।

राज बब्बर
फतेहपुर सीकरी लोकसभा सिटमा कंग्रेसबाट अभिनेता राज बब्बर उम्मेदवार बनेका थिए। तर भाजपाका राजकुमार चहार र गठबन्धन उम्मेदवरा गुड्डु पण्डित पनि सोही क्षेत्रमा हुँदा त्रिकोणीय भिडन्त भयो जसमा बब्बर पराजित भए।

रवि किशन
भाजपाले भोजपुरी अभिनेता रवि किशनलाई गोरखपुरबाट उम्मेदवार बनाएको थियो। उनले गठबन्धनका उम्मेदवार रामभुआल निषादलाई पराजित गरे ।

मनोज तिवारी
उत्तर पूर्वी दिल्लीबाट भाजपाले मनोज तिवारीलाई उम्मेदवार बनाएको थियो। उनले कांग्रेसकी पूर्व मुख्यमन्त्री शीला दीक्षितलाई पराजित गर्दै लोकसभामा स्थान सुरक्षित गरे। एजेेेन्सी ।