भारत-भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको ज्यान गएको छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो ।

भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए । आगाको मुस्लो र धुवाँबाट निस्सासिनबाट बच्न भुइँमा हाम्फालेका विद्यार्थीमध्ये १० को मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

 

 

घाइते दुई दर्जन विद्यार्थीको उपचार भइरहेको छ । आगलागीलगत्तै पुगेका १८ दमकलले आगो निभाएका थिए । साथै भवनमा फसेकालाई हाइड्रोलिक क्रेन लगाएर उद्धार गरिएको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन ।

तीन महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा आगलागीमा
१८ को ज्यान गएको थियो । दिल्लीको करोलबागको होटल अर्पित प्यालेसमा आपतकालिन निकास नहुँदा निस्सासिएर उनीहरुको ज्यान गएको थियो ।

* फिल्म स्टार प्रकाशले जमानत बचाउन सकेनन् !

साउथ इन्डियन चलचित्रका स्टार कलाकार प्रकाश राजको लोकसभा निर्वाचनमा जमानत जफत भएको छ। कर्णाटक राज्यको बैंगलोर सेन्ट्रलबाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावमा उठेका प्रकाश राज २८९०६ भोटमात्र ल्याउन सफल भए। सो क्षेत्रमा १९ लाख ३१ हजार मतदाता थिए।

जमानत बचाउन प्रकाशले मतको ५ प्रतिशत मत ल्याउनुपर्ने थियो। सिठी फुक्दै बाटोमा भएका फोहोर सफा गरेका उनले फिल्मी शैलीमा चुनाव प्रचार गरेका थिए। सो क्षेत्रमा विजेपीका पीसी मोहनले ६०२८५३ मत ल्याएर जित निकालेका छन्। कंग्रेस उम्मेदवार रिजवान अर्सदले ५३१८८५ मत ल्याए।

* भारतको लोकसभामा तीन नेपालीभाषी सांसद

भारतको लोकसभा चुनावमा तीन नेपालीभाषी निर्वाचित भएका छन्। दुई जना भारतीय जनता पार्टीबाट निर्वाचित भएका हुन् भने एक जना क्षेत्रीय दल सिक्किम क्रान्तिकारी मोर्चाबाट निर्वाचित भए। सिक्किमबाट इन्द्रहाङ लिम्बु, पश्चिम बंगालको दार्जीलिङ निर्वाचन क्षेत्रबाट राजु विष्ट र उत्तराखण्डको तेहरी गढवाला निर्वाचन क्षेत्रबाट मालाराज्यलक्ष्मी शाह निर्वाचित भएका छन्।

शाह यसअघि सो निर्वाचन क्षेत्रबाट विजयी भएकी थिइन् भने विष्ट र लिम्बु पहिलो पटक लोकसभामा पुगेका हुन्। शाहको जन्म काठमाडौंमा भएको हो। अर्जुन शम्शेर जंगबहादुर राणाकी छोरी मालाको सन् २०१२ मा भएको लोकसभाको उप निर्वाचन जितेर पहिलो पटक लोकसभामा पुगेकी थिइन्। शाहले यो सहित तेस्रो पटक चुनाव जितेकी हुन्। यस पटकको निर्वाचन भने उनले तीन लाख मतान्तरले जितेकी छिन्। उनले कांग्रेसका प्रितम सिंहलाई पराजित गरेकी हुन्। यस निर्वाचन क्षेत्रमा उत्तर काशी, तेहरी र देहरादुन जिल्ला रहेको छ।

त्यसैगरी राजु विष्टले पश्चिम बंगालको दार्जिलिङ निर्वाचन क्षेत्रबाट चुनाव जिते। विष्टले त्रिणमुल कांग्रेसका अमरसिंह राईलाई पराजित गरेका हुन्। पूर्वाेत्तर राज्य मणिपुरका ३३ वर्षका विष्टले दिल्लीमा व्यवसाय गर्दै आएका थिए। राष्ट्रिय स्वयम सेवक संघमा सक्रिय रहेका विष्टको उम्मेदवारीलाई धेरैले आश्चर्यमा रुपमा लिएका थिए। वार्षिक ५० अर्ब भारतीय रुपैयाँको व्यापार गर्ने कम्पनी सूर्य रोशनीका उनी कार्यकारी निर्देशक हुन्। विष्ट करिब चार लाख भोट अन्तरले विजयी भएका हुन्।

यसैगरी ३१ वर्ष इन्द्रहाङ लिम्बु सिक्किम क्रान्तिकारी मोर्चाबाट विजयी भए। उनले पवन चाम्लिङको दल सिक्किम डेमोक्र्याटिक फ्रन्टका उम्मेदवार देकबहादुर कटवाललाई पराजित गरेका हुन्। सुब्बाको राजनीतिक दल मोर्चाले विधानसभाको निर्वाचनमा बहुमत ल्याएको छ। सुब्बाले एघार हजार मतान्तरले जीत हासिल गरेका हुन्। सिक्किमबाट लोकसभामा एक सदस्य मात्रै निर्वाचित हुने गरेका छन्।