रामेछाप -समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् । अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् । यो समाचार अनलाइन खबर डट कमका लागि नवराज पथिकले लेख्नुभएको छ ।

 

 

रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन् । भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् ।

यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी । र, सञ्चालक हुन् -रामबाबु घिमिरे । घिमिरेकाे निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएकाे थियाे । त्यसकाे लागत रकम थियाे- १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ । तर घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए । त्याे पनि निर्धारित समयमा नै ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएकाे ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए । तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता घिमिरेले सुनाए । घिमिरेकाे उदाहरणीय कामबाट राज्यकाे ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।

खानेपानी डिभिजन कार्यालयको भवन निर्माणको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय ८२ रुपैयाँ, शहरी विकास फिल्ड कार्यालय भवनको लागि ५ करोड ७६ लाख ७२ हजार १ साय ४ रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवास भवको लागि २ करोड २४ लाख ३७ हजार ४४ रुपैयाँ रकम खर्च भएको कम्पनीले जनाएको छ ।