पाँचथर – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या गर्न प्रयोग भएको खुकुरी फेला परेको छ । सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको हो ।

यो त्यही सिरुपाते खुकुरी हो जसले पाँचथर मिक्लाजुङ ३ आरुबोटेमा दुई परिवारको ९ जना सदस्यको ज्यान लियो। घटनाको अनुसन्धानमा खटिएका प्रहरीले यो खुकुरी मानबहादुर झुण्डिएको करिब एक किलोमिटर दुरी भित्र फेला पारेको थियो। मानबहादुरले हत्या गर्दाको समयमा लगाएको कपडा झाडीमा फालेको अवस्थामा र खुकुरी कपडा नजिक ढुंगाको चेपमा प्रहरीले भेटाएको थियो ।

 

 

त्यसको केही दुरीमा रातको समयमा प्रयोग हुने टर्च समेत भेटिएको थियो । ९ जनाको हत्या गरेको घटनास्थल देखि मानबहादुर करिब ३ किलोमिटर वर झुण्डिएका थिए। खुकुरी अत्यन्त धारिलो समेत भएको अनुसन्धानबाट देखिएको छ। ‘९ जनाको शवको प्रकृती हेर्दा कसैको टाँउको, अनुहार, पेट र तिख्रासम्म गहिरो चोट पुराएको देखिन्छ’ ‘केही शवमा खुकुरीले रोपेको दाग पनि छ’ ।

सबैभन्दा बढी चोट मानबहादुरका ससुरा बमबहादुर फियाकमा देखिएको छ । उनको अनुहार र टाँउकोमा यतिधेरै चोट छ कि उनको अनहार स्पष्ट नदेखिने अवस्थामा छ । प्रहरी अनुसन्धानले मानबहादुरले मापसे सेवन नगर्ने गरेको तथ्य समेत बाहिर आएको छ । घटनामा प्रयोग भएको खुकुरी, कपडा र टर्च प्रहरीले थप अनुसन्धानको लागी विधि बिज्ञान प्रयोगशाला काठमाडौ पठाइएको छ ।

* हत्याकाण्डमा बाच्न सफल “सीता”, अझै नयाँ मान्छे देखेसी डराउछिन !

पाँचथर – आरुबोटेको कहालीलाग्दो हत्याकाण्डमा भागेर बाँचेकी १३ वर्षीया सीता खजुम नयाँ मान्छे देख्दा डराउँछिन् । आफ्ना कुरा राम्ररी भन्न सकिरहेकी छैनन् । पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा सोमबार राति भएको कहालिलाग्दो घटनाको

एक मात्र प्रत्यक्षदर्शी उनलाई चिकित्सकले मनोपरामर्श गरिरहेका छन् । ‘उनलाई सहज हुने गरी परामर्शमार्फत उपचार गरिरहेका छौं,’ वरिष्ठ फिजिसियन डा.मुक्ति भट्टराईले भने, ‘मानसिक रूपमा उक्त घटना भुलाउने प्रयास गरिरहेका छौं ।’

उनलाई शारीरिकभन्दा मानसिक असर बढी परेको भट्टराईले बताए । भट्टराईका अनुसार उनको दायाँ हातको कुइनामा चोट छ । घरबाट भाग्ने क्रममा चिप्लिएर लडदा चोट लागेको हो । घाउमा चार टाँका लगाइएको छ । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.मनोज शाहले सीतालाई लामो समयसम्म मनोपरामर्श आवश्यक रहेको बताए । ‘शारीरिक चोट ठूलो नभएकाले औषधिभन्दा बढी मनोपरामर्शमा जोड दिएका छौं,’ उनले भने, ‘हामीबाट हुनेसम्मको परामर्श गरिरहेका छौं ।’

मनोपरामर्शका कारण सीताको शारीरिक एवं मानसिक अवस्थामा सुधार आएको उनले जनाए । सीतालाई मंगलबार अपराह्न ४ बजेदेखि अस्पतालमा राखिएको हो । कडा सुरक्षाबीच उनको उपचार भइरहेको दमकका डीएसपी श्यामल सुब्बाले बताए । घटना भएको दिनदेखि सीताले नजिकका आफन्तलाई भेट्न पाएकी छैनन् ।

मावली घरमा बस्दै आएकी उनका ९ जना आफन्तको सोमबार राति हत्या भएको थियो । सीताकी आमा बुद्धिमाया फियाक दोस्रो विवाह गरी दमकमै बस्छिन् । घटनाको खबर पाएलगत्तै बुद्धिमाया मंगलबारै माइती घर आरुबोटे पुगेकी छन् । आमा आरुबोटे पुग्दा सीतालाई स्थानीयले दमक ल्याइसकेका थिए । ‘त्यति ठूलो घटना भएदेखि सीता नजिकका आफन्तसँग बस्न पाएकी छैनन्, त्यसकारण उनले आफूलाई सहज महसुस गर्न सकिरहेकी छैनन्,’ डा. शाहले भने ।

प्रहरीले पनि उनीसँग कुराकानीकै आधारमा अनुसन्धान गरिरहेको छ । अस्पतालमा आएका मानिसले उनको फोटो खिच्ने, उनलाई देखाएर कुरा गर्ने गरेकाले पनि सीताको मानसिक असर कम गर्न गाह्रो भइरहेको चिकित्सकले बताए ।

अस्पतालमा उनलाई भेट्न प्रहरीका उच्च व्यक्तिहरू, मन्त्री, सांसद, नेता, स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका व्यक्तिहरू नियमित पुग्ने गरेका छन् । सीताले सहज महसुस गर्ने एकजना महिला प्रहरी २४ सै घण्टा साथमा राखेको डीएसपी सुब्बाले बताए ।

‘दमककी उपमेयर गीता अधिकारी र म बहिनीलाई भेट्न गएका थियौं, उनी हामीसँग केही बोलिनन्,’ सामाजिक अगुवा महिला वसन्तलक्ष्मी उदासले भनिन्, ‘एक्लै बसेर न्यास्रो लागेकाले आफू पढ्ने कक्षा ९ को किताब ल्याइदिनआग्रह गरिन् ।’

शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनी शारीरिक एवं मानसिक रूपमा स्वस्थ नभएसम्म सबैखाले उपचार गर्न चिकित्सकसँग आग्रह गरेका छन् ।