कपालको गुणस्तर वंशाणुगत तत्त्व र उमेरले निर्धारण गर्छ। यसको बाक्लोपना र वृद्धि भने आमा गोता नै जाने गर्छ। तर पनि कपालको गुणस्तर र वृद्धिलाई सकारात्मक प्रभाव पार्न हामीले विभिन्न खानेकुरामा ध्यान दिनुपर्ने हुन्छ। तल उल्लिखित यी खानेकुरा खाँदा कपाल झर्ने समस्याबाट पनि धेरै हदसम्म छुट्कारा पाउन सकिन्छ।

अन्डा : स्वस्थ कपालका लागि सबैभन्दा राम्रो खानेकुरा अन्डा हो। यसमा धेरै मात्रामा प्रोटिन र बायोटिन तत्त्व हुन्छ। त्यसैगरी जिंक र सेलेनियम तत्त्व पनि अन्डामा पाइन्छ। कपालको जरामा प्रोटिनको कमीले कपाल झर्ने समस्या निम्तिन सक्छ। केराटिन नामक प्रोटिन निर्माणका लागि बायोटिन तत्त्व अति आवश्यक हुन्छ। बायोटिन तत्त्वको कमी भयो भने अन्डा खाएर कपालको वृद्धि हुने क्रमलाई अझै बढाउन सकिन्छ।

किम्बु : किम्बुमा भएका विभिन्न रासायनिक तत्त्वले पनि कपाल वृद्धि हुन सहयोग गर्छ। यसमा पाइने तत्त्वमा सबैभन्दा महत्त्वपूर्ण भिटामिन ‘सी’ हो। त्यसैगरी एन्टिअक्सिडेन्ट तत्त्व पनि यसमा पाइन्छ। बढ्दो उमेरसँगै कपालको जरामा जमेर बस्ने विभिन्न तत्त्वलाई त्यहाँ जम्नबाट एन्टिअक्सिडेन्टले रोक्छ। कोल्याजन तत्त्व निर्माणका लागि पनि भिटामिन ‘सी’ले सहयोगी भूमिका खेल्छ। कोल्याजन तत्त्वले गर्दा कपाल सुक्खा भएर टुक्रिनबाट जोगिन्छ। भिटामिन ‘सी’ले फलाम तत्त्व पनि निर्माण हुने भएकाले यसले एनिमिया रोग लाग्नबाट बचाउँछ। यसका कारण कपाल झर्ने समस्या हुँदैन।

पालुंगो : पालुंगोको सागमा फोलेट, फलाम, भिटामिन ‘सी’ र ‘ए’ पनि हुने भएकाले यी सबैले स्वस्थ कपालमा योगदान पुर्‍याउँछ। भीटामिन ‘ए’ले छालाको ग्रन्थीमा सेबम नामक तेलजन्य पदार्थ उत्पन्न गर्छ। यसले कपालको जरामा मोइस्चराइजर प्रदान गरी कपाललाई स्वस्थ बनाउँछ।

माछा : साल्मोन माछा खानाले पनि कपाललाई बढ्न मदत गर्छ। यसमा हुने ओमेगा ३ फ्याटी एसिड कपालका लागि निकै लाभदायक मानिन्छ। माछा मन नपर्ने मानिसले माछाको तेलको गोली पनि खान सक्छन्। माछामा कपालका लागि आवश्यक अन्य पौष्टिक तत्त्वहरू सेलेनियम, भिटामिन ‘डी’ ३ र भिटामिन ‘बी’ पनि पाइन्छ।

सखरखण्डा : सखरखण्डामा बिटा क्यारोटिन हुन्छ। यो तत्त्वलाई शरीरले भिटामिन ‘ए’मा बदल्छ, जसले सेबम उत्पादनमा सहयोग गर्छ। सेबम कपालको जराका लागि अति आवश्यक मानिन्छ।

एभोकाडो : एभोकाडोमा भिटामिन ‘इ’ र भिटामिन ‘सी’ पाइन्छ। यिनले पनि कपाल बढ्न सहयोग गर्छ।

गेडागुडी : गेडागुडीमा प्रशस्तै मात्रामा प्रोटिन पाइने भएकाले कपालको स्वास्थ्य र सौन्दर्यका लागि गेडागुडी खानु निकै लाभदायक हुन्छ।