पुजा शर्मा नायिका :

फिल्म ‘मधुमास’ बाट डेब्यू भएकी अभिनेत्री हुन्, पूजा शर्मा । उनले त्यसपछि आलोक नेम्वाङ निर्देशित ‘अझै पनि’ खेलिन् । उनकै अभिनय रहेको अर्को फिल्म ‘चंखे शंखे पंखे’ प्रर्दशनको तयारीमा छ । उनले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

अभिनय यात्रा कसरी सुरु भयो ?
एसएलसी दिनेबित्तिकै म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी हुँ । सुगम पोखरेलको ‘स्कुल पाठशाला’ बोलको गीतमा अभिनय गरेकी थिएँ । पहिलो भिडियो नै हिट भयो । त्यसपछि फेरि ‘असारे महिना’ बोलको गीतमा अभिनय गरँे । त्यो पनि प्रशंसित भयो । अनि, म अभिनय यात्रामा अघि बढेँ ।

हिरोइन बन्ने रहर सानैदेखिको थियो ?
हो । म सानैदेखि अभिनयमा रुचि राख्थेँ । यतिसम्म कि एसएलसी दिएपछि म्युजिक भिडियोमा अभिनय गर्न नदिए कलेज नै पढ्दिनँ भनेर ममीलाई घुर्की लगाएकी थिएँ । अर्को रमाइलो कुरो, म सानोमा केटाजस्तै थिएँ । केटाकै जस्तो कपाल काटेकी थिएँ । शाहरूख खानको ‘डाइहार्ड’ फ्यान थिएँ ।

उनको फिल्म हेर्दा रुन्थेँ । टीभीमा देख्दा ‘शाहरूखसँगै बिहे गर्छु’ भन्थेँ । आफ्नो जन्मदिन मनाउँदिन थिएँ, तर शाहरूखको मनाउँथेँ । साह्रै अबुझ दिएँ । शाहरूखका लागि साथीहरूसँग लड्थेँ पनि । ठूलो भएर शाहरूखलाई भेट्न पाउँछु कि भनेर पनि हिरोइन बन्ने रहर पालेकी थिएँ ।

अझै त्यस्तै हुनुहुन्छ ?
होइन, अहिले त अलि ‘कन्ट्रोल’ मा आइसकेँ । तर, शाहरूखको अभिनयचाहिँ आज पनि मन पर्छ । आज पनि मलाई मन पर्ने अभिनेता उनी नै हुन् । उनकै कारण अभिनयमा तानिएकी हुँ , प्रभावित भएकी हुँ ।

तपार्इं निरन्तर सुदर्शन थापाको फिल्ममा मात्र देखिरहनुभएको छ । अरू ब्यानरले नपत्याएर हो ?
त्यस्तो त हुँदै होइन । म हिमालयन टीभीमा काम गर्दाको कुरा हो । मलाई ‘मेरो लभस्टोरी’ फिल्मका लागि सुर्दशनजीले अफर गर्नुभएको थियो । उहाँले ‘तिम्रो फोटोहरू पठाऊ’ भन्नुभयो । म पनि घमण्डी थिएँ ।

‘मेरो त्यत्रो भिडियो हिट भएका छन्, तर पनि फोटो माग्ने ?’ भनेर मैले त्यतिबेला फिल्म खेलेकी थिइनँ । साँच्चै भन्नुपर्दा त्यतिबेला मेरो सबैभन्दा अप्रिय डाइरेक्टर सुर्दशन थापा नै हुनुहुन्थ्यो । त्यस्तै, मलाई ‘नोभेम्बर रेन’ मा पनि खेल्न अफर आएकै हो । मैले पैसा पनि लिइसकेकी थिएँ । तर, पछि केही कुरामा चित्त नबुझेपछि छाडेकी हुँ । यसरी धेरै फिल्म अस्वीकार गरेकी छु । एक–दुई महिनाका लागि घर छाडेर सुटिङमा टाइम दिनुपर्छ । त्यही भएर जहाँ पारिवारिक वातावरण भेट्छु, त्यो टिमसँग काम गर्न रुचाउँछु ।

कुनै बेलाका अप्रिय डाइरेक्टर अहिले सबैभन्दा प्यारो भएका छन् नि ?
हो । हामी एकदम मिल्ने साथी होँ । ‘क्लोज फ्रेन्ड’ हौँ । बजारमा सुनिएजस्तो केही पनि होइन ।
तर, तपाईंहरूबीच त प्रेम सम्बन्ध छ भन्ने चर्चा व्यापक छ नि ?
त्यो शतप्रतिशत गलत हो । मलाई फिल्म क्षेत्रमा अरू पनि धेरै फिल्मकर्मीले मन पराउँछन् । तर, उनीहरूको नाम कहिल्यै आउँदैन । सधैँ सुर्दशनजीकै नाम आइरहेको छ । हामी सँगै काम गरिरहेका कारण हुनसक्छ । तर, म नहिचकिचाई भन्न सक्छु कि मेरो अर्कै ब्वाइफ्रेन्ड छ । कलेजमा छ । त्यो सुर्दशनजीलाई पनि थाहा छ ।

आफूलाई मन नपर्ने निर्देशकबाटै डेब्यू हुनुभयो । कसरी ?
मैले तीन वर्ष हिमालयन टीभीमा काम गरिसकेपछि फिल्म ‘मधुमास’ का लागि सुर्दशनजीले अफर गर्नुभयो । कथा मन प¥यो । मलाई मन पर्ने अभिनेता आर्यन सिग्देल मेरो ‘हिरो’ भन्ने थाहा भएपछि झन् उत्साहित भएँ । परिवारकै अगाडि सम्झौता गराएर उहाँहरूले मलाई त्यो फिल्मका लागि पक्का गर्नुभयो ।

कतिपय हिरोइनले एउटै निर्माता÷निर्देशकको साथ लिएर आफूलाई स्थापित गराएका छन्, गराउन खोजेका छन् । कतै तपाईंले पनि त्यही गर्न खोज्नुभएको त होइन ?
मैले अघि नै भनिसकेँ म त्यो डाइरेक्टरसँग काम गरिरहेको छु जसको फिल्म कुनै बेला मैले ‘रिजेक्ट’ गरेकी थिएँ । ‘मधुमास’ पछि ‘अझै पनि’ मा अभिनय गरेँ । ‘अझै पनि’ पुनम क्षत्रीको फिल्म थियो । उहाँसँग मेरो दिदी–बहिनीजस्तो सम्बन्ध छ ।

सुदर्शनजी त त्यो फिल्मको अभिनेता हो । निर्देशक त आलोक नेम्बाङ (दाइ) हुनुहुन्थ्यो । अहिले ‘चंखे शंखे पंखे’ मा पनि निर्माता सन्तोष सेनले ‘तपाईंको ‘मधुमास’को हिरोइनलाई नै यो फिल्ममा राख्नुपर्छ’ भनेर सुर्दशनजीलाई भनेपछि उहाँले मलाई प्रस्ताव राख्नुभएको रहेछ । अर्को फिल्म ‘प्रेम गीत’ मा पनि सन्तोषजीले मलाई नै रोज्नुभयो । जसलाई सुुर्दशनजीले निर्देशन गर्नु हुँदै छ । यही संयोगका कारण हामी सँगै काम गरिरहेका हौँ । यस्तो हुन्छ भने यसमा मेरो के दोष ? केही फिल्ममा लगातार सँगै काम गर्दैमा प्रेमी–प्रेमिका भइहालिन्छ त ?

धेरै कलाकार विदेश पलायन भइरहेका छन् । यो क्षेत्रमा टिक्न गाह्रो हो ?
सत्य के हो भने अधिकांश कलाकारको आम्दानीको स्रोत यहाँ धेरै हुँदैन । मैले देखेको छु, धेरैले यो क्षेत्रमा ‘स्याक्रिफाइस’ गरेका छन् । अब मेरै कुरा गर्ने हो भने पनि मैले ममीलाई मेरो कमाइको पैसा भनेर दिएँ भने ‘यसले त चामल पनि आउँदैन’ भनेर ठट्टा गर्नुहुन्छ । हाम्रो इन्डस्ट्रीको अवस्था हो यो । यहाँ कुरा काट्ने र खुट्टा तान्ने प्रवृत्ति बढी छ । यसको सट्टा फिल्म क्षेत्रको विकासका लागि लाग्दा राम्रो हुन्थ्यो । मैले मेरो भविष्य यही क्षेत्रमा बनाउने सोच राखेकी छु । यही क्षेत्रका लागि निरन्तर काम गर्ने योजना छ ।

नेपाली कलाकारले ‘स्टारडम’ बनाउन नसकिरहेको अवस्था छ नि । किन होला ?
म यसमा हामी कलाकारकै दोष देख्छु । हाम्रो आफ्नै कारणले स्टारडम नबनेको हो । हामी कलाकारको आचरण यस्तो छ कि हामी आफैँ पत्रिकामा फोन गरेर ‘मेरो फोटो किन नछापेको ?’ भन्छौँ । छाप्न लगाउँछौँ । आफ्नो ‘लेभल मेन्टेन’ नगरेपछि हामीलाई कसले गन्छ ? हामी जहाँ पनि पुगिरहेका हुन्छौँ । कहाँ के गर्नु हुन्छ भन्ने कुरा ख्याल राख्दैनोँ । अनि कसरी बन्छ त स्टारडम ? मलाई नेपालमा स्टारडम भनेको राजेश हमालको मात्र छ जस्तो लाग्छ । उहाँले अहिलेसम्म मेन्टेन गर्नुभएको छ ।
फिल्म निर्माण पनि गर्दै हुनुहुन्छ क्यारे ।

हो । आफ्नै लगानीमा फिल्म ‘मिरा’ बनाउँदै छु । अहिलेसम्म यही नाम पक्का भएको छ । पछि परिवर्तन हुन पनि सक्छ । अहिले ‘स्क्रिप्ट’ को काम भइरहेको छ । यो फिल्ममा कलाकार सबै नयाँ हुनेछन् । खोजी भइरहेको छ । मैले व्यवस्थापनमा ध्यान दिने भएकाले अभिनय नगर्ने भएकी हुँ ।

फिल्ममा काम गर्नुअघि अभिनय सिक्नुभयो ?
सिकेँ । अनुप बराल र वीरेन्द्र हमालसँग तीनमहिने अभिनय कोर्स गरेकी थिएँ ।
एउटी अभिनेत्री हुनका लागि ‘प्याकेज’ मा के–के हुनुपर्छ जस्तो लाग्छ ?
कथाले मागेको जति कुरा दिन सक्नुपर्छ जस्तो लाग्छ । यसको अर्थ जे पाए त्यहीचाहिँ होइन । चाहिने कुरा दिनुपर्छ । अभिनयमा सम्झौता गर्नु हुँदैन । (साभार: शुक्रवार साप्ताहिक)

 

* सलोन बस्नेत, नायक

भुवन केसीको चलचित्र ‘नेपालीबाबु’ मा बालकलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका सलोन बस्नेत पुराना निर्देशक सोभित बस्नेतका छोरा हुन् । बालकलाकारका रूपमा चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका सलोन शिव रेग्मीद्वारा निर्देशित ‘हामी तीन भाइ’ पछि बालकलाकारका रूपमा देखिन छाडे । त्यसपछि करिब आठ वर्ष अभिनय क्षेत्रबाट टाढिएका सलोनले अघिल्लो वर्षको सफल चलचित्र ‘होस्टल’ बाट अभिनेताका रूपमा डेब्यु गरे ।

‘होस्टल’ को व्यवसायिक सफलतासँगै चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल सलोनले त्यसपछि लक्ष्मण सुवेदीको ‘एउटा साथी’ तथा गोविन्द शाहीको ‘आभाष’ मा अभिनेताका रूपमा काम गरे । प्रदर्शन हुन बाँकी तथा छायांकनका क्रममा रहेका केही चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका सलोन भविष्यसम्म पनि चलचित्र क्षेत्रमै सक्रिय रहने बताउँछन् ।

संगीतकर्मी
दर्शकहरूले मलाई चलचित्रमा अभिनेताका रूपमा देखे पनि म कुशल संगीतकर्मी हुँ भन्ने कुरा धेरैलाई जानकारी छैन । कलेजमा अध्ययरत छँदा म रक ब्यान्ड ‘द भल्ट’ मा बेस गिटारिस्ट तथा भोकलिस्टका रूपमा आबद्ध थिएँ । हाम्रो ब्यान्डले काठमाडौंमा थुप्रै पटक दिएको लाइभ कन्सर्टमा म सहभागी भएको थिएँ । अभिनयमा व्यस्त भए पनि मैले संगीतलाई चटक्कै छाडिसकेको छैन ।

रकस्टार
बालकलाकारका रूपमा अभिनय गरेर चलचित्र क्षेत्रबाट टाढा भएपछि म अध्ययनमा व्यस्त भएँ । कलेजमा अध्ययनरत छँदा ममा अभिनेता होइन रकस्टार बन्ने भूत सवार भएको थियो ।

वसन्तपुर र दामन
काठमाडौंको वसन्तपुर र मकवानपुरको दामन मलाई सबैभन्दा मन पर्ने स्थान हुन् । पत्याउनु हुन्न होला, काठमाडौंमा भएको बेला म दिनको एक पटक वसन्तपुर पुगेकै हुन्छु । जति नै व्यस्त भए पनि दिनमा एक पटक वसन्तपुर नपुगी चित्तै बुझ्दैन । वसन्तपुरमा साथीहरूसँग केही समय बिताउन पाइन भने के नपुगे-नपुगे जस्तो लाग्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामन भने म महिनाको एक पटक पुगेकै हुन्छु ।

लालमोहन
मलाई गुलियो असाध्यै मनपर्छ । गुलियो मन पराउनेहरूका लागि बजारमा धेरै कुरा उपलब्ध छन् । मलाई भने लालमोहन असाध्यै मनपर्छ । बिहान होस् अथवा बेलुका, लालमोहन देखें भने खान अग्रसर भैहाल्छु । फ्रिजमा लालमोहन छ भन्ने कुरा थाहा पाएपछि मध्यरातमा उठेरसमेत खाएको छु । एकपटकमा यतिवटा खान सक्छु भनेर गनेको त छैन, तर जति खाए पनि अघाएँ भन्दिन ।

गाजल
प्लस टु पढ्दा मेरो आँखामा नियालेर हेर्ने साथीहरूले केही अनौठो कुरा पाउँथे । त्यसताका म आँखामा प्राय: गाजल लगाउँथे । प्राय: युवतीहरूले मात्र गाजल लगाउने चलन छ तर प्लस टुमा अध्ययरत छँदा पंक रकका हस्ती गि्रनडेको फ्यान भएपछि उनीजस्तै बन्न मैले गाजल लगाएको थिएँ । अहिले पनि मुड चल्यो भने म आँखामा गाजल लगाउन मन पराउँछु ।

मोटरसाइकल
मलाई कसैले कार र मोटरसाइकलमध्ये कुन मनपर्छ भनेर सोध्यो भने मेरो जवाफ मोटरसाइकल हुनेछ । म तीव्र गतिमा मोटरसाइकल कुदाउन मन पराउँछु । खासगरी स्पोर्टी मोटरसाइकल भनेपछि
हुरुक्क हुन्छु ।

भिडियो हेर्नुहोस :