प्रदेश २ उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले झापड हानेका हुन ।
आफू अनुकूलको एनजीओलाई आयोजना नपारेको भन्दै झापड प्रहार गरी दुव्र्यवहार गरेको सचिव झाले दुखेसो पोख्नुभयो । सचिवलाई झापड हानेपछि कर्मचारीहरु बाहिर धर्ना दिएका छन् भने कुटिएका सचिवलाई उल्टै मन्त्री यादवको निर्देशनमा प्रहरीले पक्राउ गरेको छ ।

‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले निक्कै कुटाइ खाएको देखिन्छ। मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।  

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ। 

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएको थिए । तीमध्ये ४० वटा संस्था छनोट भएका छन् । छनौटमा परेका एनजीओमा आफ्नो एनजीओ नपरेको भन्दै मन्त्री यादावले सचिव झालाई झापड हानेका हुन् ।

मन्त्री यादव संघीय समाजवादी फोरमबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन ।