विश्वदृष्टिकोण के हो भन्ने स्पष्ट हुनुपर्छ । अन्तरराष्ट्रिय दृष्टिकोण प्रष्ट भएन भने हामीले बनाएको आन्तरिक नीति फगत कल्पना मात्रै हुन्छ । आन्तरिक नीति संसारमा भएका दुई सयवटै देशबाट कतै न कतै प्रभावित भइरहेको हुन्छ । सामान्तयः के भनिन्छ भने वाह्य नीति भनेको आन्तरिक नीतिकै विस्तृत रुप हुन्छ ।

भित्री नीति नोकरशाही, एकात्मकतावादी, राजतन्त्रात्मक खालको छ भने त्यसले बाहिर सम्बन्ध बढाउँदा आफ्नै संस्थालाई कसरी टिकाउने भन्नेखालले बढाउँछ । जब कि लोकतान्त्रिक, जनताको हितलाई केन्द्रमा राख्ने व्यवस्था छ भने बाह्य सम्बन्ध पनि जनताको सुख समृद्धि गर्नेखालले नै विस्तार गरिन्छ ।

अन्तरराष्ट्रिय सम्बन्ध पनि निरन्तर गतिशील हुन्छ । भूगोल वा भौतिक पक्षमा ठूलै उथलपुथल नआउँदासम्म खासै भिन्नता आउँदैन । सामान्य अवस्थामा भूगोल स्थिर नै रहन्छ । जनसंख्याको वितरण, आर्थिक अवस्था जस्ता कुरामा भने उत्तारचढाव भइरहन्छ ।

मंगोलिया भन्ने देशको अहिले खासै चर्चा हुँदैन । तर, १३ औं शताब्दीसम्म यो देश संसारकै सबैभन्दा ठूलो साम्राज्य थियो । सबैभन्दा शक्तिशाली देश नै त्यसैलाई मानिन्थ्यो ।
घोडामा चढेर तरबार वा धनुषवाणले युद्ध लड्ने बेलासम्म मंगोलियाले विश्व हल्लाएको थियो । बारुदको विकास भएपछि भने त्यो देश क्रमशः कमजोर बन्दै गयो । पछि आधुनिक हातहतियारको विकास भयो । कृषि अर्थतन्त्र क्रमशः व्यापार र उद्योगतिर लाग्यो । त्यसपछि समुन्द्र किनारका देशहरू बलिया हुन थाले ।


युरोप अमेरिका, जापान हुँदै अहिले विकासको केन्द्र चीनतिर सरेको छ । नेपाल पनि कृषिबाट भर्खरै व्यापारिक र औद्योगिक अर्थतन्त्र उन्मुख छ । हामीले यतिबेला विश्वका सबै देशसँग सम्बन्ध बढाउनुपर्छ । अन्तरमुखी मात्रै भएर बस्नुहुँदैन ।
खेतीपाती र पशुपालन गरेर मात्रै विकास हुन सक्दैन । वस्तु उत्पादन गरेर विदेशमा पनि बेच्ने र बाहिरी लगानी पनि ल्याउन सक्नुपर्छ । आर्थिक विकासको हिसाबले पनि बाहिर फैलनु पर्नेछ ।

बीसौं शताब्दीको मध्यसम्म बेलायतकेन्दि्रत युरोप विश्वको केन्द्र थियो । अहिलेसम्म अमेरिका विश्वको मुख्य आर्थिक र सामरिक केन्द्र बनेको छ । २१ औं शताब्दीको शुरुवातसँगै क्रमशः चीन अर्को केन्द्र बन्दै गएको छ । ०५० को दशकसम्म चीन ठूलो सुपरपावर बनेर आउँदैछ भन्ने प्रक्षेपण गरिँदैछ ।


कतिपयले अमेरिका पुरै सिद्धिएर चीन आउँछ त ? भन्ने पनि गरेका छन् । मेरो विचारमा २१ औं शताब्दीसम्म अमेरिका खस्कँदै जान्छ, तर पुरै सिद्धिँदैन । चीन उकालो लाग्दै गरेको विश्व शक्ति बन्छ । त्यसपछि भारत पनि ठूलै शक्ति बन्दै जान्छ । रुस अहिले अलि तल परेजस्तो देखिए पनि त्यो आफैं भीमकाय छ । त्यो पनि ठूलै शक्तिका रुपमा रही राख्छ भन्ने परिकल्पना गरिन्छ । सँगसँगै ब्राजिल, मेक्सिको, इन्डोनेसिया जस्ता देशहरू पनि अगाडि आउन सक्छन् ।
२१ औं शताब्दीको अन्त्यसम्म विश्व बहुकेन्द्र बन्छ । तर, मुख्य शक्तिका रुपमा अमेरिका र चीन नै रहन्छन् । भारत पनि उल्लेख्य शक्तिका रुपमा आउँछ ।

चीन घेर्ने अमेरिकी रणनीति
नेपालमा यी तीनवटै देशको तानातान, खिचातानी बढ्ने सम्भावना अत्यन्तै प्रवल छ । यही कुरालाई केन्द्रमा राखेर हामीले आफ्नो नीति बनाउनुपर्छ । हिजोसम्म हामी चीन र भारतको मात्रै कुरा गथ्र्यौं भने अब अमेरिकालाई पनि छुटाउन मिल्दैन ।
अमेरिकाले भर्खरै हाम्रा परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गरेको छ । त्यसको अन्तर्य भनेको भारत प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी) सफल पार्नका लागि हो । यो रणनीतिको मुख्य उद्देश्य भनेको चीनलाई सुरुमा नै घेरेर विस्तार हुन नदिनका लागि हो । यसरी हेर्दा तीनवटा शक्तिको तानातान हामी कहाँ बढ्ने देखिन्छ ।

तेस्रो शक्ति पनि हुनु भनेको एक हिसाबले अवसर पनि हो । व्यापारिक भाषामा भन्ने हो भने दुईवटाको सट्टा तीनवटा ग्राहक हुनु हो । तर हामीले फाइदा लिन सक्छौं कि सक्दैनौं भन्ने कुरा हाम्रो व्यवहारमा पनि निर्भर गर्छ ।
भारत, चीन र अमेरिकाले गठबन्धन नगरी अलग-अलग बसे भने एक किसिमको परिदृश्य बन्छ । त्यस्तो बेलामा हामीले तीनैवटासँग अलग-अलग व्यवहार गर्न सकिन्छ । अलग-अलग लाभ पनि लिन सकिन्छ ।
भारत र चीन एक ठाउँमा आए र अमेरिका अलग बस्यो भने हामीले त्यही किसिमको रणनीति अपनाउन सकिन्छ । भारत र चीन मिले भने हामीले दुईवटैलाई चिढ्याउनु हुँदैन । यिनीहरू नजिक पनि छन् ।
अमेरिका र भारत एक ठाउँमा आउने र चीन अर्कोतिर बस्ने अवस्था आयो भने हामी तानातानमा पर्न सक्छौं । त्यस्तो बेलामा हामीले फेरि फरक ढंगले व्यवहार गर्नुपर्ने हुन्छ ।
तत्काल भने यी तीनवटै शक्तिले आ-आफ्ना दाउपेच गरिरहेका छन् । जस्तै- अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी भारतलाई समेत आफ्नो पक्षमा लिएर चीनलाई एक्लो पार्नका लागि हो । अमेरिकाले अहिले चीनलाई मुख्य दुश्मनको रुपमा लिएको छ । उसले विभिन्न देशका सेना फिर्ता गरेर आफ्नो पक्षमा पार्न खोजेको छ । ट्रम्पले रुससँग पनि झगडा नगरौं भनिरहेका छन् । अमेरिकाले सबै शक्ति सञ्चय गरेर चीनसँग लडौं भन्न खोजेको हो ।

चीन र भारतको दाऊ
चीनको कुरा गर्नुहुन्छ भने उसले बीआरआई -बेल्ट एण्ड रोड इनिसियटीभ) मार्फत नेपाल हुँदै दक्षिण एसियासम्म सडक लिएर जाने र मध्य एसिया हुँदै युरोपसम्म सडक विस्तार गर्न लागेको छ । दक्षिणपूर्वी चिनियाँ जुन समुन्द्र छ, त्यहाँबाट निकास खोज्दै श्रीलंका हुँदै अपि|mकातिर लिएर जाने नीति लिएको छ । सिल्क रोडको कुरा पनि आफूलाई केन्द्रमा राखेर विश्वभरि फैलने रणनीति हो ।
भारतले चाहिँ बिमस्टेक मार्फत आफ्नो नेतृत्वमा शक्ति केन्द्र बनाउन खोजेको छ । नेपाल पनि त्यसको अंग होस् भन्ने उसको चाहना देखिन्छ ।

यसरी हेर्दा तीन शक्तिले नेपाललाई आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ । यदि त्यसो हुँदैनथ्यो भने अमेरिकाले समुन्द्रसँग नजोडिएको नेपाललाई किन इन्डो प्यासिफिक स्ट्राटेजीमा राख्यो ? बीआरआईमार्फत चीन र बिमस्टेक -बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) मार्फत भारतको दाउ पनि त्यही नै हो ।

यस्तो अवस्थामा यिनीहरूसँग अलग-अलग व्यवहार गरेर हामीले लाभ लिनसक्नु पर्छ ।
तर, हामीले चाहेजस्तो मात्र हुँदैन । अन्तरराष्ट्रिय रणनीति र कुटनीतिमा सबैले आ-आफ्नो स्वार्थ हेर्छन् । कसैले कसैमाथि दयामाया गर्दैनन् । फलाना देश हाम्रो मित्र, फलाना दुश्मन भन्ने कहिल्यै पनि हुँदैन । राम्रो मूल्यमा सामान खरिद गर्ने ग्राहकलाई व्यापारीले राम्रो मान्छ । देशहरूको सम्बन्धको कुरामा पनि त्यस्तै हुन्छ ।
त्यसैले कुटनीति र वाणिज्यनीतिलाई एउटै हो भनिएको हो । जोसँग लाभ लिन सकिन्छ, त्यो मित्र हुन्छ । जोसँग लाभ लिन सकिँदैन, त्यो दुश्मन हुन्छ । फलाना देश सधंैको मित्र र फलाना स्थायी दुश्मन भन्नु भावनाको कुरा मात्रै हो ।
तीनवटै शक्तिसँग सम्बन्ध विस्तार गर्ने जुन अवसर छ । त्यसलाई अत्यन्त सुझबुझका साथ अगाडि लैजान सक्नुपर्छ । र, त्यसका लागि के गर्ने त भन्नेमा बहस गर्नु आवश्यक छ ।
नेपालले गर्नुपर्ने के हो ?
प्रारम्भिकरुपमा मलाई लागेको छ, हामीले आफ्नो अन्तरराष्ट्रिय नीतिलाई ठीक ढंगले व्यवस्थापन गर्न सकेनौं भने ठूला शक्तिहरुको बीचमा पिसिने खतरा छ । यो बडो खतरनाक हुन्छ ।
साँढेको जुधाइ बाच्छाको मिचाइ भनेजस्तो ठूलाठूला साँढेहरु यहाँ आएर जुध्न थाले भने हामीलाई अप्ठ्यारो पार्न सक्छन् । त्यसो भए के हामी भाग्ने त ? भाग्न त हामी सक्दैनौं । यहीँ बसेर व्यवहार गर्नुपर्छ । त्यसो भएकाले के गर्ने त ?
अन्तराष्ट्रिय सुरक्षाबीच रोवर्ट काप्लान भन्छन्, ‘ठूला देशको बीचमा चेपिएर बसेको सानो देशले कि त शान्तिमा जोड दिएर अगाडि बढ्ने नीति लिनुपर्छ, कि आक्रामक बनेर चतुरतापूर्वक संघर्ष गर्ने नीति लिनुपर्छ । आधा संघर्ष, आधा शान्ति भन्ने दोहोरो नीति हुँदैन ।’

भारतको पुच्छर बनेर नेपाल सुरक्षित हुँदैन
तर, हाम्रो नेपालमा यस्तै भएको छ । तयारी छैन । लु आइज भनेर पाखुरा सुर्कन्छौं, उसले एक थप्पड लगाउँदा लत्रक परेर थचक्क बस्नुपर्छ । त्यसपछि होइन हजुर, भनेर लत्रँदै पुग्छौं । त्यसैले न शान्तिपूर्ण ढंगले संघर्षबाट बढेर आफ्नो विकास गर्ने नीति हामीसँग छ, न साँँच्चै नै तागतिलो भएर लु आइज भनेर लड्ने वा एउटासँग मिलेर अर्कोलाई पछार्ने र त्यसपछि अर्कोलाई पछार्ने नीति छ ।

मलाई के लाग्छ भने हामी सानो देश होइनौं । पछिल्लो तथ्यांक अनुसार पनि भौगोलिक हिसाबले सवा २ सय देशमध्ये नेपाल ९६ औं स्थानमा छौं । जनसंख्याको हिसाबले ४९ औं स्थानमा छौं । तर, भारत, चीन र अमेरिकासँग तुलना गर्दा हामी साना हुन पुगेका हौं । त्यसैले सानो छौं, केही गर्न सक्दैनौं भन्ने मानसिकता राख्नुहुँदैन । यसरी हेर्दा हामीले साँँच्चै चतुरतापूर्वक विश्लेषण गरेर अगाडि जानुपर्छ ।
एकैपटक तीनैसँग लड्न सके त राम्रो हुन्थ्यो । तर, सक्दैनौं । आर्थिक र फौजी हिसाबले कमजोर छौं । उनीहरु सबै मिलेर वा एक्लैएक्लैले हामीलाई सिध्याइदिन्छ । न भारतसँग एक्लै लड्न सकिन्छ, न चीनसँग लड्न सकिन्छ, न अमेरिकासँग लड्न सकिन्छ । तीनवटै आउँदा हामी धुलोपिठो भइहाल्छौं । तीनवटासँगै लड्ने नीति काम लाग्दैन ।

अर्को नीति भनेको एउटासँग नजिक हुने र अरु दुईवटासँग जोरी खोज्ने । जस्तो- इजरायल अरु सबैसँग लड्छ तर, अमेरिकासँग मिल्छ । जापान पनि अमेरिकासँग मिलेको छ, दक्षिण कोरियाले सेना र आणविक हतियार राख्न दिएको छ र आफ्नो विकास गरेको छ । सिंगापुरले विकास गर्‍यो भन्छौं तर, अमेरिकासँग मिलेर विकास गरेको हो ।
हामीले पनि यही नीति लिने हो भने भारतसँग पुरै मिलेर जान सकिन्छ त ? हामीले बढी डिल गर्नुपर्ने भारतसँग हो । तर, भारतको आफ्नै चाल छ । चीन र अमेरिकासँग जुध्न सक्ने तागत उसको आफ्नै छैन भने त्यसको पुच्छर बनेर हामी सुरक्षित हुन सक्दैनौं ।

चीन अलि बलियो छ, उसैको साथमा जाउँ न त भन्ने हो भने पनि सबै लेनदेन दक्षिणतिर छ । एउटै नाकाबन्दीले हैरान पारेको छ भने अमेरिकासँग मिलेर नाकाबन्दी गर्‍यो भने हाम्रो हालत अफगानिस्तानको जस्तो हुन्छ । त्यसैले चीनसँग मिलेर पनि सम्भव छैन ।
अमेरिकासँग मिलौं भन्ने हो भने भारत र चीन दुबै रिसाउँछन् र बसीखान दिँदैनन् । अर्थात सबैसँग लड्छु भन्दा पनि भएन, कुनै एउटासँग मिल्छु र अरुसँग लड्छौं भन्नु पनि हाम्रा निम्ति बुद्धिमानी हुँदैन ।

त्यसोभए कुन नीति लिने त ? शान्तिवादी नीति लिने । संस्कृतमा एउटा श्लोक छ,
दुर्बलस्य बलं राजा बालानां रोदनं बलम् ।
बलं मूर्खस्य मौनित्वं चौराणामनृतं बलम् ।।
अर्थात जो दुर्बल हुन्छ, उसको बल भनेको राजा अर्थात राज्य हुन्छ । बच्चाको बल भनेको रुनु हो, बच्चा रोएपछि कसैको केही लाग्दैन । चुप लागेर बस्नु मूर्खको बल हो । चुप लागेर बसेपछि उ मूर्ख छ कि विद्धान, कसैलाई थाहा हुँदैन । त्यसैगरी चोरको बल बनेको झूठो बोल्नु हो ।
हाम्रोजस्तो देश, जो लड्न पनि सक्दैन, कसैसँग गएर झुक्न सक्दैन । यस्तो विशिष्ट अवस्थामा सबैभन्दा चर्कोसँग शान्तिको आवाज उठाउनुपर्छ । देशभित्र पनि सबैलाई एकतावद्ध गरेर समतामूलक विकास गर्ने, शान्ति कायम गर्ने, बाहृय शक्तिहरुसँग पनि हामी शान्तिको पक्षमा छौं, आणविक हतियारको विरोध गर्छौं, युद्धको विरोध गर्छौं । हामी लड्दा पनि लड्दैनौं र कसैको लडाइँ यहाँ निम्त्याउँदा पनि निम्त्याउँदैनौं भनेर नेपाललाई शान्ति क्षेत्र बनाउने ।
हुन त हिजो राजा वीरेन्द्रले पनि यो कुरा उठाएका हुन् । तर, त्यसबेला त देशमा लोकतन्त्र थिएन, अधिकारका लागि जनता लड्न बाध्य थिए । त्यस्तो बेलामा के शान्ति क्षेत्र घोषणा गर्नु ? सम्भव नै थिएन । तर, अब देशमा अधिकारसम्पन्न लोकतन्त्र आएको छ । सही नीति लिने हो भने देश समृद्धि र शान्तिको दिशातिर जान सक्छ । यस्तो अवस्थामा शान्ति क्षेत्रको प्रस्ताव गर्दै नेपालले कसैमाथि आक्रमण नगर्ने र कसैसँग नलड्ने अन्तरराष्ट्रिय ग्यारेन्टी गरौं ।

तर, विभिन्न देश, सेना, हतियार छउञ्जेल हामीले चाहेर पनि बच्न सक्दैनौं । अहिले ट्रम्पले मेक्सिकोमा पर्खाल लगाउँछु भनिरहेका छन् । कतै आक्रमण गरिरहेका छन् । हाम्रै छिमेकमा पनि निहुँ खोज्न थाल्यो भने बाहृय शक्तिको भर गरेर मात्र त पुग्दैन । त्यसका लागि सेना, बन्दुकमा खर्च गर्नुको सट्टा सबै नेेपालीलाई फौजी तालिम दिऔं । १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई मिलिसियाका रुपमा तयार पार्ने र कुनै बाहृय शक्तिले आक्रमण गरेछ भने गुरिल्ला स्टाइलले लडेर परास्त गर्न वा सार्वभौमसत्ताको रक्षा गर्न सक्छौं । बाहृय शक्ति नआउँदासम्म आत्मसमर्पण नगरी देशलाई बचाउन सक्छौं ।

त्यसैले फौज वा हातहतियारमा लगानी गर्नुभन्दा जनतामै लगानी गर्ने, लगानी बृद्धि गर्ने र जनतालाई तालिम दिएर देशको रक्षा गर्ने नीति लिन सकियो भने नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको जर्गेना पनि हुन्छ र देशको विकास र समृद्धि हुन्छ । यसले विश्वलाई नयाँ सन्देश दिन पनि सक्छ र नेपालको नयाँ परिचय बन्छ ।

अनलाईन खबर