आज विश्व धूमपान रहित दिवस। हरेक वर्ष विश्वर ३१ मे का दिन विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइन्छ। यो वर्ष दिवसका लागि ‘सुर्ती र फोक्सो स्वास्थ्य’ भन्ने नारा रहेको छ। यो नाराले सुर्तीजन्य पदार्थले कसरी फोक्सोमा हानि गर्छ र यसले अरु विभिन्न केके रोगहरु निमत्याउँछ भन्ने कुरामा केन्द्रित रहेको छ।

नेपालमा बढी मात्रामा सुर्तीजन्य पदार्थ जस्तै चुरोट, पान, गुट्खा, पराग, बिँडी, हुक्का आदिहरु सेवन गरिन्छ। त्यसको सेवनले फोक्सोमा धेरै समस्या पार्छ। यसले क्रोनिक अब्सट्रक्टिभ पल्मनरी डिजिज(सिओपिडी), आज्मा, क्षयरोग आदिको पनि जोखिम गराउँछ।

 

 

धूमपानले शरीरको सबै अंगतिर असर गर्छ तर मुख्यतः असर गर्ने भनेको फोक्सोतिर हो। यसले स्नायुप्रणालीमा असर गर्छ। हृदयघात निम्त्याउन सक्छ। रगतमा ल्युकेमियाको समस्या, हड्डीको विकासमा पनि असर पर्छ। मांसपेशी सुक्दै जाने, थकान महसुस हुने, कमजोरी हुने आदि असर पार्छ। यसले मुख स्वास्थ्यमा पनि असर पार्न सक्छ। दाँत कमजोर हुनुका साथै गिजामा पनि समस्या ल्याउन सक्छ। धूमपानले हृदयघात, स्ट्रोक र मुटुको रोग २ देखि ४ गुणासम्म बढाउँछ। त्यसैगरी उच्च रक्तचाप र मधुमेह पनि बढाउँछ। त्यसैगरी बाथ र मोतियाविन्दुको समस्या पनि ल्याउन सक्छ।

धूमपानले क्षयरोग गराउँछ। क्षयरोगले फोक्सोको कोष, तन्तुहरुमा असर गर्छ। त्यसका साथै फोक्सोको क्षमतामा असर गर्दिन्छ। क्षयरोग भएका बिरामीहरुले धूमपान गरिराखेमा फोक्सोको क्षमतामा ह्रास आउनुका साथै दोब्बर गतिमा जोखिम बढ्ने सम्भावना हुन्छ।

धूमपानले क्षयरोगको बिरामीलाई श्वासप्रश्वास बन्द गराइदिन्छ। त्यसले गर्दा फोक्सोको क्षमतामा ह्रास आउने, फोक्सोमा रहेको विभिन्न जीवाणुलाई आक्रमण गर्ने, निमोनिया हुने हुन्छ। यदि धूमपान नछोडे मृत्यु हुन सक्छ। संसारको एक चौथाइ भागमा सुषुप्त अवस्थामा रहेको क्षयरोग धूमपान गरिरहेका व्यक्तिलाई सक्रिय क्षयरोग देखिन सक्छ।

बच्चाहरुमा पनि धूमपानको असर उत्तिकै पर्ने हुन्छ।
धूमपान गरिरहेका व्यक्तिको नजिक बसेमा पनि धुवाँ धेरै लिइरहेको हुन्छ मान्छे। परिवारमा ठूलाबडाले धूमपान गर्दा बालबालिकाहरुलाई धुवाँले असर गरिरहेको हुन्छ नै बच्चाहरुले खान सिक्ने पनि हुन्छन्। सानैदेखि त्यसको प्रत्यक्ष सम्पर्क रहिरने बच्चामा शारीरिक विकासमा समस्या हुने, श्वासपश्वासको संक्रमण हुने, निमोनिया, ब्रोन्किाइटिस, आज्मा लगायतका समस्या देखिन्छन्। बाल्यवस्थामा धूमपानसँग प्रत्यक्ष सम्पर्कमा रहने बच्चालाई ४५ उमेरदेखि सिओपिडी देखिन सक्छ।

त्यसैगरी धूमपान गर्ने गर्भवती महिला तथा धूमपान गर्ने व्यक्तिको नजिक रहँदा पनि उनीहरुलाई असर पर्दछ। गर्भमा विकास भइरहेको भ्रुणमा फोक्सोको विकासमा अवरोध पुग्न सक्छ। साथै मिस्क्यारिज हुने सम्भावना बढाउने र महिना नपुग्दै जन्मिने पनि हुन सक्छ। जन्मिने त्यस्ता बच्चामा निमोनिया, आज्मा, देखिन्छ नै तिनीहरुमा ठूलो भएपछि सिओपिडी जस्ता दीर्घखालका दम खोकीहरु लाग्न सक्छ।

धूमपानमा ७ सय प्रकारको हानिकारिक रसायन हुन्छन् जसमा ६९ प्रकारका क्यान्सर जन्य रसायन नै छन्। धूमपानको धुवाँले वायु प्रदूषणलाई बढावा दिन्छ। त्यसैगरी धूमपानको धुँवा जब हावामा जान्छ त्यो ५ घन्टा सम्म रहिरहन्छ, उडिरहेको हुन्छ। मान्छेले सास लिरहँदा मानिसको फोक्सोमा सिधै जान्छ। यसले गर्दा पनि क्यान्सर अनि अन्य श्वासप्रश्वासको रोग बढाइरहेको छ। जुन नसर्ने रोगका प्रमुख कारणहरु बनिरहेका छन्।

विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनका अनुसार सूर्तीजन्य पदार्थ तथा धूमपानले ४ सेकेन्डमा एक जनाको मृत्यु गराउँछ। धूमपानका कारण विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। सेकेन्ड ह्यान्ड स्मोकबाट १० लाख मानिसको हरेक वर्ष मृत्यु हुने गरेको छ। त्यसैगरी धूमपान नगर्ने भन्दा धूमपान गर्ने व्यक्तिलमा फोक्सोको क्यान्सर २२ गुणाले बढी रहेको छ।

नेपालमा यकिन तथ्यांक नभए पनि विभिन्न अध्ययनका अनुसार २५ देखि ३० हजार व्यक्ति विभिन्न सुर्तीजन्य पदार्थबाट बर्सेनि मृत्युको सिकार भइरहेका छन्। नेपालमा क्यान्सरले मृत्यु हुनेमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा आउँछ।

खोकी लाग्ने, साँस फेर्न गाह्रो हुने, अत्यधिक छाती दुख्ने, रगत खोक्ने आदि भयो भने फोक्सोमा समस्या आएको मान्नुपर्छ। त्रिवि शिक्षण अस्तपालमा आउने दीर्घ खालका दम, खोकी, आज्मा, निमोनिया, साधारण रुघाखोकी बढी आउँछन्।

मंगलबार र बिहीबार ओपिडी छ। सम्बन्धित दिन २ सयको हाराहारीमा बिरामीहरु आउँछन्। जसमध्ये २ सय धूमपानकै समस्याबाट पीडित भएर आएका हुन्छन्। इमरजेन्सीबाट भर्ना हुनेमा धेरै जसो सिओपिडीकै छन्। भर्ना हुनेमा ८० देखि ९० प्रतिशत धूमपानकै बिरामी छन्।

अहिले नेपालमा १२–१३ वर्ष उमेरबाट स्कुल देखि कलेजका विद्यार्थीहरुमा ‘स्मोकिङ ह्याबिट’ बढेको छ। उनीहरुलाई धूमपान गरेको १० देखि २५ वर्षपछि असर गर्छ।

कसैले धूमपान छोड्न चाहिरहेको छ भने आजै छोड्नुस्। बिस्तारै छोड्छु भन्यो भने त्यो सकिँदैन। कसैकसैमा मैले चुरोट एकैचोटि छोड्यो भने मृत्यु हुने भन्ने गलत धारणा बोकेको भेटाएको छु तर त्यो होइन चुरोट छोडेपछि केही दिन गाह्रो हुन्छ तर त्यो गाह्रोपन दुई हप्तामा हराएर जान्छ। निद्रा नलागेर धूमपान गरेको, साथीहरुको लहैलहैमा, देखासिकी गरेर खाएको भन्छन्। धूमपान छोड्ने इच्छा छ भने पहिला सुरुमा छोड्ने दृढ इच्छाशक्ति हुनुपर्‍यो। चपाउने बानी छ भने ल्वांग, सकुमेल चपाउन सकिन्छ।

नेपालमा पहिले निकोटिन रिप्लेसमेन्ट थेरापी थियो तर सायद अहिले छैन। धूमपान छोड्नको लागि चुइगम, स्प्रे, ट्याबलेट आदि आउँथ्यो। धूमपानले सबैभन्दा भयानक रुप लिने भने फोक्सोको क्यान्सर नै हो। क्यान्सरको लक्षण लिएर आउने धेरै जसो अन्तिम स्टेजका मात्र छन्। एक या दुई स्टेजमा आए अपरशेन गरेर निको बनाउन सकिन्छ। धूमपान गरिरहेका व्यक्तिले धूमपान छोडेमा उसको आयु १० वर्ष बाँच्न सक्छ।

सरकारले सुर्तीजन्य पदार्थमा करहरु बढाउने, सार्वजनिक स्थलमा धूमपान गर्न नपाउने, मानिसहरुमा जनचेतना बढाउने, मासमिडियाबाट जनचेतना फैलाउने, स्वास्थ्य शिक्षा दिने, धूमपान विक्रि,वितरण र किनबेचमा कडाइ गर्ने आदि कुरामा ध्यान दिइयो भने धेरै मानिसहरुको मृत्युको मुखबाट बच्न सक्छन्।

प्रमुख रुपमा त सुर्तीजन्य पदार्थहरु लिँदै नलिने। त्यसैगरी आफ्नो साथीभाइ, परिवारले खान्छन् भने खान नदिने वा नजिक नबस्ने गर्नुपर्छ। श्वासप्रश्वासमा ध्यान दिन स्वच्छ वातावरण रोज्ने, उच्च प्रोटिन डाइटहरु खाने, पोषणयुक्त खाना खानुपर्दछ। धूमपान छोडेमा फोक्सोको क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ।

– पल्मोनरी एवं क्रिटिकल केयरका विशेषज्ञ डा निरज बम त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक हुन् ।

(स्वस्थ्य खबरका लागि बुनु थारुसँगको कुराकानीमा आधारित)