२७ माघ २०७१ मा नेपालमा सनसनी फैलाएको समाचार हो– ‘स्विस ब्यांकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘द इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस ब्यांकमा पैसा राखेका नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक गरेको थियो ।
यो रहस्यमय सम्पत्ति कसको होला भन्ने बारेमा विभिन्न अड्कलबाजी भए । धेरैलाई यो ‘राजनीतिक नेतृत्वले लुकाएको अवैध धन’ हुनुपर्छ भन्ने लागेको थियो । आईसीआईजेले ‘स्विस लिक्स’, ‘अफसोर लिक्स’, ‘पनामा पेपर्स’ र ‘प्याराडाइज पेपर्स’ मा अध्ययन गरेका करीब दुई करोड ८० लाख कागजातमध्ये नेपाल नाम जोडिएका तीन हजार कागजात खोजपत्रकारित केन्द्र (खोपके) ले अध्ययन गर्‍यो ।

यसमा आईसीआईजेबाट प्राप्त विवरण, त्यसका आधारमा गरिएका थप अनुसन्धान, विभिन्न मुलुकका कम्पनी रजिष्ट्रारको कार्यालयका विवरणहरू, विदेशस्थित खोज पत्रकारहरूले उपलब्ध गराएका तथ्यहरू र इमेल पत्राचारबाट संकलन गरिएको सूचनाहरू समावेश छन् ।
इन्टरनेटमा आधारित थप अनुसन्धानले हामीलाई नयाँ दस्तावेजहरू प्राप्त गर्न र प्राप्त दस्तावेजहरू केलाउन सजिलो बनायो । तीमध्ये ‘स्विस लिक्स’ सँग सम्बन्धित कागजातले केही नेपाली नागरिक र केही चाहिं नेपाली कागजात र ठेगाना प्रयोग गरेर विदेशीले पनि स्विस ब्यांकमा रकम जम्मा गरेको भेटियो । यो स्टोरी त्यसैको सार हो ।

७ अर्बबाट ५२ अर्ब
आईसीआईजेले २०७१ सालमा सन् २००६/०७ को विवरणमात्रै सार्वजनिक गरेको थियो । तर, त्यसपछि पनि स्विस ब्यांकमा नेपालीको सम्पत्ति बढेकोबढ्यै छ । सन् २०१७ मा स्विस ब्यांकले नै सार्वजनिक गरेको विवरण अनुसार, अहिलेसम्म त्यहाँ नेपालीले राख्ने र झिक्ने गरेको रकम आधा खर्ब रुपैयाँ नाघिसकेको छ ।
सन् २०१७ मा स्विस ब्यांकले नेपालीहरूको बचत रहेको विवरण वेबसाइटमा सार्वजनिक गरेपछि खोज पत्रकारिता केन्द्रले स्विस ब्यांकलाई इमेल लेख्यो । ‘तपाईंहरूले राखेको विवरणमा नेपालीको बचत कति हो भन्नेबारे हामी स्पष्ट हुन सकेनौं । कुन शीर्षकको रकम नेपालीको बचत हो ?’ भन्नेलगायतका विषयमा स्विस ब्यांकसँग पाँच पटक इमेलमा कुराकानी भयो ।
स्विट्जरल्यान्ड, ज्यूरिकको स्विस नेशनल ब्यांकका तथ्यांक अर्थशास्त्री दिमित्री लेन्जिनले इमेलबाट प्रष्ट्याए, कि ब्यांकले नेपाल देशअन्तर्गत सार्वजनिक गरेका विवरणहरू मध्ये `अमाउन्टस ड्यु इन रेस्पेक्ट अफ कस्टमर डिपोजिट´ शीर्षकमा रहेको रकम नेपालीको हो ।

२० जुलाई २०१८ को इमेलमा उनले थपे, ‘यो प्रत्येक वर्ष छुट्टाछुट्टै जम्मा भएको रकम हो ।’ उनले सुुझाए अनुसार रकमको योगफल निकाल्दा नेपालीले ४६ करोड ८ लाख २१ हजार स्विस फ्र्यांक (पुस, अन्तिम साता २०७५ को औषत विनिमय दर अनुसार– रु. ५२ अर्ब ७ करोड २७ लाख ७३ हजार) जम्मा गरेको देखिन्छ ।
यस बापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (रु. ७७ करोड ४१ लाख १४ हजार) ब्याज समेत पाइसके । ‘यो कति जना नेपालीको बचत हो ?’ अर्को इमेलमा हामीले प्रश्न गर्‍यौं । जवाफमा उनले लेखे, ‘हामी बचतकर्ताको संख्या सार्वजनिक गर्न सक्दैनौं ।’

रोचक कुरा के छ भने नेपालमा द्वन्द्व शुरूभएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस ब्यांकमा रकम जम्मा गर्न थालेको देखिन्छ ।
स्विस नेशनल ब्यांकले २०१७ मा सार्वजनिक गरेको विवरण अनुसार, पहिलो वर्ष १ करोड १० लाख ४२ हजार स्विस फ्र्यांक अर्थात् १ अर्ब २४ करोड ७७ लाख ४६ हजार रुपैयाँ बचत गरेको देखिन्छ । द्वन्द्वकालको १० वर्षे अवधिमा नेपालीले २४ करोड २ लाख ७२ हजार स्विस फ्र्यांक (रु. २७ अर्ब १५ करोड ७ लाख ३६ हजार) स्विस ब्यांकमा जम्मा गरेका छन् ।
द्वन्द्व सकिएपछिका दुुई वर्षमा सबैभन्दा बढी रकम बचत भएको छ । सन् २००६ अर्थात २०६३ सालमा मात्रै ३ करोड ६७ लाख २७ हजार स्विसफ्र्यांक (रु. ४ अर्ब १५ करोड १ लाख ५१ हजार) बचत गरेका छन् । सन् २००७ मा ३ करोड ४५ लाख १० स्विस फ्र्यांक (रु. ३ अर्ब ८९ करोड ९६ लाख ३० हजार) बचत गरेका छन् ।

कुल बचतबाट अहिलेसम्म १३ करोड ८९ लाख ३७ हजार स्विसफ्र्यांक अर्थात् करीब १५ अर्ब ५८ करोड ६८ लाख ८१ हजार रुपैयाँ खाताबाट निकालेको देखिन्छ । अहिले पनि नेपालीको ३५ अर्ब ८४ करोड रुपैयाँ स्विस ब्यांकमा छ ।
कानून छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न नेपालसरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको १२ वर्ष भइसकेको छ । तर स्विस ब्यांकमा पैसा पुर्‍याउने क्रम रोकिएको छैन ।
विभाग गठन भएको २०६४ देखि २०७४ सालको अवधिमा मात्रै २२ करोड ५ लाख ४९ हजार स्विस फ्र्यांक (रु. २४ अर्ब ९२ करोड २ लाख ३७ हजार) नेपालीबाटै स्विस ब्यांकमा पुगेको छ । अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ । यति गम्भीर मामिलामा यो निकायले कुनै सक्रियता देखाएको सार्वजनिक जानकारीमा छैन ।

विभागका प्रवक्ता विनोद लामिछाने अन्तरदेशीय सूचना संकलनमा कानूनी समस्या रहेको बताउँछन् । “यहाँ बसेर ज्योतिषीले चिना हेरेझैं पत्ता लाग्दैन । अन्य देशहरूसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदान–प्रदान सम्बन्धी सम्झौता गर्नुपर्ने हुन्छ । अहिलेसम्म त्यस्तो सम्झौता भइनसकेकाले अध्ययनमा कठिनाइ छ ।”
तर, विज्ञहरूका भनाइमा विभागले काम गर्न नसक्नुमा संरचनागत कारण पनि जिम्मेवार छ । “यो विभागलाई अर्थ मन्त्रालय वा प्रधानमन्त्री कार्यालय मातहतमा राख्नै हुँदैनथ्यो,” नेपाल राष्ट्र ब्यांकको स्रोतमाथि निगरानी र सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइ प्रमुख भएर पाँच वर्ष काम गरेका धर्मराज सापकोटा भन्छन्, “विभाग गठन गर्दा छुट्टै स्वायत्त संस्था बनाउन धेरै प्रयास गरियो, भएन । यो त्यसैको परिणाम हो ।”

मिनु शाह/मिनु छिब्बर
अहिले लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु र उनका दुुई छोराहरूको नाममा सबैभन्दा बढी रकम स्विस ब्यांकमा जम्मा छ । हाम्रो अनुसन्धानले के देखाएको छ भने– बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस ब्यांकमा पैसा जम्मा गर्ने मिनु शाह विवाह पछि मिनु शाह छिब्बर भएकी हुन् । उनको अर्को ठेगाना चाहिं ललितपुरको कुपण्डोल हो । कुपण्डोलस्थित छिब्बर निवासमा भेटिएका शाहका सहयोगीले भने, “महारानी मिनु बेलायत जानु भा’छ । चैतमा आउनुहुन्छ ।”
बेलायतमा बसोबास गरे पनि नेपाल आउजाउ गरिरहने मिनुले भारतीय नागरिक सिर्वतेरा प्रकाश (एसपी) छिब्बरसँग विवाह गरेकी छिन् । कागजातहरूले एसपी छिब्बरको सन् २००३ मा मृत्यु भएको देखाउँछन् । भारतीय अदालतमा परेको एउटा मुद्दा केलाउँदै जाँदा भेटिएका केही कागजातबाट एसपी छिब्बरकी जेठी श्रीमती पनि छन् भन्ने देखिन्छ । मिनुतर्फ दुुई छोरा पर्वेश छिब्बर र महेश छिब्बर छन् ।

मिनु र उनका दुवै छोराको नेपाली राहदानी छ । सन् २००६/०७ मा ७८ लाख ५० हजार ९९१ का दरले दुुई छोरा र मिनुले २ करोड ३५ लाख ५२ हजार ९७३ अमेरिकी डलर (रु. २ अर्ब ६१ करोड ४३ लाख ८० हजार) स्विस ब्यांकमा जम्मा गरेका छन् । जेठो छोरा पर्वेशको भारतमा आडवानी होटल एन्ड रिसोर्ट र बेलायतमा आधा दर्जन कम्पनीहरूमा पनि लगानी छ । लन्डनको बर्लिङटन आर्केडमा बस्दै आएका कान्छो छोरा महेशको पनि लन्डनमै चारवटा कम्पनीमा लगानी रहेको देखिन्छ ।
हामीले बेलायतमा व्यवसाय गरिरहेका मिनुका छोरा पर्वेश छिब्बरसँग स्विस ब्यांकको बचत बारे सोधेका थियांै । उनले भने, “मलाई यसबारेमा कुनै जानकारी छैन, मेरो आमासँग कुरा गर्नुस् ।” मिनुसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।

मिनु र उनका छोराहरूका कतिपय आर्थिक क्रियाकलापहरू शंकास्पद देखिन्छन् । छिब्बर परिवारको भारतको अदालतमा मुद्दा परेको छ भन्ने आईसीआईजेको कागजातबाट देखेपछि एकजना भारतीय पत्रकारको सहयोगमा हामीले दिल्ली उच्च अदालतका केही कागजात प्राप्त गर्‍यौं । प्राप्त विवरण अनुसार सन् २०१२ मा छिब्बर परिवारको सम्पत्ति सम्बन्धी एउटा मुद्दामा दिल्ली उच्च अदालतले मिनु र उनका छोराहरूले नेपाली ठेगाना प्रयोग गरेकोमा प्रश्न उठाएको भेटियो ।

स्विस ब्यांकका अनुसार, छोरा महेशले नेपाली राजदूतावास लन्डनको सिफारिशमा १० फेबु्रअरी १९९७ मा नेपाली पासपोर्ट बनाएका हुन् । पर्वेशले पनि २३ नोभेम्बर १९९९ मा नेपाली पासपोर्ट बनाएका छन् । ‘दि ब्रिटेन नेपाल सोसाइटी’ ले सन् १९९३ र १९९६ मा प्रकाशित गरेका दुईवटा स्मारिका अनुसार, मिनु उक्त सोसाइटीकी सदस्य हुन् ।
मिनु शाह छिब्बरका बारेमा बुझ्न हामीले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्‍यौं । मन्त्रालयको राहदानी विभागको प्रशासन शाखाका शाखा अधिकृत गणेशप्रसाद अधिकारीले दिएको जानकारी अनुसार, मिनु छिब्बरका नाममा बेलायतस्थित नेपाली दूतावासबाट १७ सेप्टेम्बर २०१३ मा ०६७०२५३६ नम्बरको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी भएको छ । पासपोर्टमा लेखिए अनुसार, उनको स्थायी ठेगाना ललितपुर बागडोल हो । पासपोर्टमा नजिकको नातेदारमा भतिजा अमोदप्रताप राणाको नाम उल्लेख छ ।

सम्बन्धको जालो
छिब्बर परिवारको सम्बन्ध अन्यत्र पनि छ । मिनुका दुुई छोराहरू महेश र पर्वेश ‘दुबईको पर्ल ग्लोबल फाइनान्स लिमिटेड’ कम्पनीका लगानीकर्ता हुन् ।
यो कम्पनीमा लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिशन एटवाटर पनि छन् । कम्पनीले कानूनी रूपमा इच्छाएको व्यक्ति उल्लेख गर्नुपर्ने ठाउँमा मिनु, पर्वेश र एटवाटरको नाम उल्लेख छ । स्विस ब्यांकको अभिलेख अनुसार मिनुको ‘ग्राहकसँग सम्बन्धित व्यक्तिगत तथा कानूनी संस्था’ मा एटवाटरको पनि नाम हुनुले मिनु, महेश, पर्वेश र एटवाटर चारै जना एउटै कारोबारमा सम्बन्धित व्यक्ति हुन् भन्न स्पष्ट हुन्छ ।

यसबारेको थप विवरणको खोजी गर्दै जाँदा मिनुको कारोबार स्विस ब्यांकमा मात्रै सीमित छैन भन्ने देखिन्छ । अवैध धन राख्न, स्रोत लुकाउन र गैरकानूनी आर्जनको खोजीनितीबाट बच्न सुरक्षित मानिने ‘ट्याक्स हेवन’ मुलुकको लगानीमा पनि मिनु जोडिएकी छिन् ।
आईसीआईजेको पनामा पेपर्सले फेला पारेको २०१६ को विवरण अनुसार ब्रिटिश भर्जिन आइल्यान्डस्को विवादास्पद कम्पनी मोसेक फोन्सेकाले मिनुको नाममा रुनी होल्डिङ्स कम्पनी दर्ता गराइदिएको छ ।
इंल्यान्ड र फ्रान्सबीचको टापु जर्सीको च्यानल आइल्यान्डस्मा दर्ता भएको यो कम्पनीको ब्यांक खातामा लगानीको लाभकर्तामा मिनुको नाम छ । ट्याक्स हेवन मानिने जर्सीमा दर्ता भएको यो कम्पनी सन् २००० मा दर्ता भई २०१६ सम्म सक्रिय रहेको देखिन्छ ।
रुनी होल्डिङ्स कम्पनीको शेयर सदस्य सम्बन्धी सन् २०१० को एक दस्तावेज अनुसार, उक्त कम्पनीमा मिनुले लगानी गर्नुपूर्वका शेयर सदस्यहरू ब्रिटिश नागरिकहरू थिए । उनीहरूमार्फत मिनु ‘ट्याक्स हेवन’ मुलुकमा प्रवेश गरेको देखिन्छ ।

दुबईको पर्ल ग्लोबलसँग सम्बन्धित एटवाटर पनि स्विस ब्यांकका बचतकर्ता हुन् । उनले दुुई फरक–फरक खातामा रकम जम्मा गरेका छन् । एउटा खातामा ९ लाख ७ हजार ७७ अमेरिकी डलर (रु. ९ करोड ६३ लाख) जम्मा देखिन्छ । अर्को खातामा भने ५ करोड ६५ लाख १६ हजार ९७९ डलर ( रु ९ अर्ब) देखिन्छ । अहिले उनी बेलायतमा बस्दै आएका छन् । स्विस ब्यांकको विवरण अनुसार, बेलायतमा एटवाटरको पाँच वटा कम्पनीमा लगानी देखिन्छ ।
एटवाटर र छिब्बरपरिवारको कथाको साइनो नेपालसँग यहाँनेर जोडिन्छ । नेपालका राणा प्रधानमन्त्री श्री ३ पद््मशमशेरकी छोरी रमा मल्लसँग पनि एटवाटरको सम्बन्ध देखिन्छ । बेलायतमा एटवाटर र मल्ल व्यावसायिक साझेदार हुन् । उनीहरूको संयुक्त लगानीमा ‘सिक्स्टीन अप्पर ब्रुक स्ट्रीट लिमिटेड’ कम्पनी सञ्चालनमा छ ।
३४ वर्षदेखि अस्तित्वमा रहेको उक्त कम्पनीमा सन् २००४ देखि मल्लको लगानी देखिन्छ । रमा नेपालस्थित ठमेलको ‘मल्ल होटल’की अध्यक्ष हुन् । एक वर्षअघि रमाले नेपालमा रु. ८ करोड १० लाख कर नतिरेको भनेर कर कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । हामीले होटल मल्लको टेलिफोन नम्बरमा पटक पटक सम्पर्क गर्‍यौं तर रमासँग सम्पर्क हुन सकेन ।

नेपाली कागजातको प्रयोग
कतिपय विदेशी नागरिकले नेपाली कागजात प्रयोग गरेर स्विस ब्यांकमा सम्पत्ति राखेको पनि फेला परेको छ । आईसीआईजेले उपलब्ध गराएको विवरण अनुसार, ५३ वर्षीय इजरायली नागरिक लिवर जोहार येहुदाले नेपाली पासपोर्ट प्रयोग गरेर स्विस ब्यांकमा पैसा जम्मा गरेका छन् ।
येहुदाले पाटन, काठमाडौं ठेगाना उल्लेख गरी स्विस ब्यांकमा रकम जम्मा गरेका हुन् । केमिकल (रसायन) को आयात निर्यातका व्यापारी भनिने येहुदाको नाममा ४ लाख ९७ हजार २४६ अमेरिकी डलर (रु. ५ करोड ३५ लाख ७३ हजार २८४) जम्मा देखिन्छ ।
नेपाली ठाउँसँग मिल्ने ठेगाना उल्लेख गरी थप तीन जना विदेशीले पनि स्विस ब्यांकमा रकम जम्मा गरेका छन् । आईसीआईजेको सन् २००६/०७ को विवरण अनुसार, युएई ठेगाना भएका भारतीय नागरिक सुजलप्रकाश साहले ३ लाख ३२ हजार ७४० डलर (रु. ३ करोड ५८ लाख ४९ हजार ४०७) जम्मा गरेका छन् ।

भारतका अरुणकुमार रामनिकलाल मेहताले ४ करोड ४ लाख अमेरिकी डलर (रु. ४ अर्ब ८४ करोड ४४ लाख १५ हजार ९७३) जम्मा गरेका छन् । स्विस ब्यांकमा रकम जम्मा गर्ने खातावालाको ‘व्यक्तिगत विवरण’ सम्बन्धी दस्तावेजमा मेहताको ठेगाना ‘पाटन’, व्यवसाय मुम्बईको हीरा कम्पनीको डाइरेक्टर उल्लेख छ ।
नेपालमा नाम नसुनिएका मेहता को हुन् भनेर पत्ता लगाउन गरिएको थप अनुसन्धानका क्रममा खोपकेले प्राप्त गरेको दस्तावेजमा उनको व्यक्तिगत ‘प्रोफाइल’ मा अन्य सात जनाको नाम जोडिएको पाइयो । त्यसबाट अरुणकुमार भारतीय नागरिक भएको र ती सातै जना उनको परिवारको सदस्य रहेको पुष्टि भयो । दस्तावेजमा उल्लेख भएको उनको ठेगाना पाटन भन्ने ठाउँ भारतको गुजरात राज्यमा पर्दछ जहाँ मेहता जन्मेका थिए ।

रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार, मेहताको भारतमा सातवटा कम्पनीमा लगानी छ । उनको मुम्बईमा रहेको रोजी ब्लू प्राइभेट लिमिटेड हीराको व्यापार गर्ने भारतकै ठूलामध्येको एक कम्पनी भएको भारतबाट प्रकाशन हुने ‘द इकोनोमिक टाइम्स’ ले २०१८ मार्चको एउटा समाचारमा उल्लेख गरेको छ ।
अरुणकुमार रामनिकलाल मेहताको नाता भारतका अर्बपति व्यापारी मुकेश अम्बानीसँग पनि जोडिन्छ ।द इकोनोमिक टाइम्स मा प्रकाशित रिपोर्ट अनुसार, मेहताकी नातिनी श्लोका मेहताको विवाह मुकेश अम्बानीका छोरा आकाश अम्बानीसँग हुने तय भइसकेको छ ।

त्यस्तै गोविन्दभाई लालझिभाई ककडिया नाम गरेको व्यक्तिले स्विस ब्यांकमा २ हजार १८६ अमेरिकी डलर (रु.२ लाख ३५ हजार ५१९) जम्मा गरेका छन् । सुजल, अरुण र गोविन्द तीनै जनाको ठेगाना पाटन, काठमाडांै लेखिएको छ । यही ठेगानाका भरमा स्विस ब्यांक र आईसीआईजेले उनीहरूले राखेको पैसालाई ‘नेपालीले गरेको बचत’ को सूचीमा राखेको देखिन्छ ।
तर, गुजरात, पाटनमा जन्मेका गोविन्दभाई लालझिभाई ककडिया भारतका प्रतिष्ठित सुन तथा हीरा व्यापारी हुन् । रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार भारतमा सुन र हीराको कारोबार गर्ने पाँच कम्पनीमा उनको लगानी छ । भारतमा हीराको कटिङ, प्रशोधन तथा उत्पादनमा अग्रपंक्तिमा रहकोे उनको कम्पनी हो, शीतल म्यानुफ्याक्चरिङ प्रालि ।

भारतको दैनिक पत्रिकाइन्डियन एक्सप्रेसले २०१५ को फेब्रुअरी महीनामा प्रकाशन गरेको एउटा समाचारमा ककडिया सामेल भएको शीतल ग्रुपले सन् २००६/०७ मा ९ हजार १०० अमेरिकी डलर स्विस ब्यांकमा राखेको खुलासा गरेको थियो । सो खातामा भएको रकमको लाभग्राही‘बेनिफिसियल ओनर’ मा ककडिया र उनका तीन भाइको नाम छ । तर आईसीआईजेले नेपालअन्तर्गत उपलब्ध गराएको दस्तावेज अनुसार, उनको नाममा २००६/०७ मा २ हजार १८६ अमेरिकी डलर स्विस ब्यांकमा जम्मा भएको देखिन्छ ।

के हो स्विस ब्यांक ?
स्विट्जरल्यान्डमा सन् १८५४ मा ‘स्विस ब्यांक कर्पोरेशन’ का रूपमा स्थापित स्विस ब्यांकका शाखा ५० देशमा छन् । स्विस ब्यांकले आफ्नो बारेमा ‘उच्चस्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको’ दाबी गरेको छ ।
आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानूनी आर्जन यस ब्यांकमा जम्मा गर्न सहज मानिन्छ ।

स्विट्जरल्याण्डको अनलाइन पत्रिका स्विस इन्फो न्यूज डट सिएच का अनुसार, ‘खासगरी सम्बन्धविच्छेद (डिभोर्स), गम्भीर आपराधिक कार्य, ब्यांकटाट पल्टिंदा, अंशबन्डा गर्दाप्राप्त रकम यो ब्यांकमा मौज्दात गर्नु सुरक्षित मानिन्छ ।’
ब्यांकका अनुसार, विश्वका २०० भन्दा बढी देशका नागरिकको मौज्दात यो ब्यांकमा छ । ब्यांकले जुनकुनै प्रयोजनका लागि कुनै पनि निकायलाई खातावालको विवरण दिंदैन । तर, सन् २०१५ मा स्विस सरकार र युरेपियन युनियन (इयु) बीच भएको सम्झौता अनुसार ‘असाधारण गोपनीयता अन्त्य गरी स्विट्जरल्यान्ड र अन्य युरोपियन मुलुकका खातावालहरूको विवरण माग भएमा आदान/प्रदान गर्नुपर्ने’ सम्झौता भएको छ ।

सन् २०१५ मा आईसीआईजेले गरेको ‘स्विस लिक्स’ ले कर छली तथा आपराधिक क्रियाकलापबाट आर्जन गरिएको रकम समेत स्विस ब्यांकमा जम्मा गरेको तथ्य सार्वजनिक भएपछि ईयूले ब्यांकसँग यस्तो सम्झौता गरेको हो । तर यो सम्झौताले पनि स्विट्जरल्याण्ड र युरोपियन मुलुकसँग असम्बन्धित कारोबार र तीभन्दा बाहिरका मुलुकहरूको गैरकानूनी आर्जन त्यहाँ लुकाउन सकिने नै देखिन्छ ।
स्विस ब्यांकले ‘तानाशाह, भ्रष्ट नेता, कर छली गर्ने व्यापारी, हतियार तथा लागूऔषध कारोबारीको रकम जम्मा गरी नाफा कमाउने काम गरेको’आईसीआईजेको दाबी छ ।
‘स्विस लिक्स’ पछि स्विस ब्यांकले विश्वभर आलोचना खेप्नुपर्‍यो । केही मुलुकका नेताहरूको राजनीति नै धरापमा पर्‍यो । त्यसको प्रभावस्वरुप स्विस ब्यांकलाई पनि नियमनको दायरामा ल्याउने प्रयास ईयूले गर्‍यो । तर, अझै पनि स्विस ब्यांक खातावालाको विवरण आदान/प्रदान गर्न चाहँदैन ।

स्विस ब्यांकर्स एशोसिएशनले तयार पारेको २०१५ को प्रतिवेदन अनुसार, यस ब्यांकको ६.५ ट्रिलियन डलर (६५ खर्ब अमेरिकी डलर) सम्पत्ति छ । प्रतिवेदन अनुसार, यसमध्ये ५१ प्रतिशत सम्पत्ति स्विट्जरल्यान्ड भन्दा बाहिरका देशहरूबाट लगेको हो ।
‘स्विस लिक्स’ पछि स्विट्जरल्याण्डको अदालतले स्विस ब्यांकका सूचनाप्रविधिमा काम गर्ने एक कर्मचारीलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । एर्वी फाल्चेनीले एक लाख ३० हजार खातावालको विवरण चुहाएको आरोपमा जेल सजाय पाएका हुन् ।
बेलायती समाचार संस्था ‘रोयटर्स’ ले जनाए अनुसार, फाल्चेनीलाई २०१८ अप्रिलमा स्पेनको बार्सिलोनाबाट पक्राउ गरिएको थियो । त्यहाँ उनी दुुई महीना जेल बसे । तर, अदालतले स्पेनको कानून अनुसार फाल्चेनीलाई स्विट्जरल्याण्ड ‘सुपुर्दगी’ गर्न नहुने फैसला सुनायो ।
अहिले उनी जेलबाट छुटिसकेका छन् ।उनीमाथि सन् २००८ देखि युरेपियन युनियनका विभिन्न राष्ट्रलाई स्विस खातावालाको सूचना दिने गरेको आरोप छ ।

(‘स्विस लिक्स’ इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) र ले मन्डद्वारा सन् २०१५ माएचएसबीसी प्राइभेट ब्यांक(स्विट्जरल्याण्ड) का दस्तावेजहरूमाथि गरिएको अनुसन्धानमा आधारित छ । आईसीआईजेले स्विस लिक्स प्रोजेक्टअन्तर्गत करीब ६० हजार दस्तावेजको विस्तृत अध्ययन गरेपछि एचएसबीसी ब्यांककाझन्डै एक लाख खाता र खातावालाहरूको विवरण फेला पारेको थियो ।तीमध्ये धेरैजसो ग्राहक र खाताहरू सम्बन्धी डाटा सन् १९८९ देखि २००७ सम्मका थिए ।)

स्रोत:हिमाल खबर