सिरहा, लहान नगरपालिकाको दक्षिणी बस्ती कालाबञ्जरमा यादव, महतो र दलित समुदायको बाक्लो बसोबास छ । कोहीकतै बिरामी परे धामीकहाँ पुग्ने चलन छ। गाउँमै छन्, नाम चलेका धामी मगहरिया रामकुमार यादव। स्थानीय ३२ वर्षीया रामपरी यादवलाई पेट ढुस्सिने समस्या थियो । उनी मगहरिया धामीकहाँ पुगिन्।

धामीले तान्त्रिक विधिबाट रोग निको पारिदिने भन्दै मन्त्रोचारण गरे । तर व्यथा झन् बल्झियो। दिनदिनैको पीडाले हायलकायल रामपरीलाई आफन्तले डाक्टरकहाँ जान सुझाए। विराटनगरको अस्पतालमा जँचाउँदा रामपरीको कलेजोमा घाउ देखियो। अपचको समस्या निको पार्न धामीको भर पर्दा उनले झन् समस्या बेहोर्नुपर्‍यो। एक महिनाको औषधि बोकेर गाउँ फर्किइन्।

 

 

कलाबन्जरमा अझै पनि सकेसम्म धामीकहाँ नै धाउने, समस्या बल्झिएर ठूलो रूप लिएपछि मात्र डाक्टरकहाँ जाने चलन छ। यसको मुख्य कारण हो, अन्धविश्वासमा फसेको समाज। जनकपुरबाट अजित तिवारीले लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ। नाडी–निधार छामेर ज्वरो ‘छु–मन्तर’ बनाइदिने दाबी गर्ने धामीझाँक्री छ्यासछ्यास्ती भेटिन्छन्।

महोत्तरीको सीमावर्ती गाउँ मटिहानीमा नाम चलेका धामी छन्, राजेन्द्र्र भण्डारी। ४७ वर्षका उनी झन्डै १२ वर्षदेखि ‘भूतप्रेत झार्ने’ काम गर्छन् । हरेक मंगलबार र शनिबार राति मटिहानी, ब्रह्मस्थानस्थित उनको अड्डामा दर्जनौं संख्यामा मानिस पुग्छन् । हरेक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन कमला नदीमा ‘भूत मेला’ लाग्छ ।

पहेँलो वस्त्रमा खाली खुट्टा र माटोको भाँडोमा बलिरहेको आगो बोकेर कमला नदीको किनारमा सयौं संख्यामा धामीझाँक्री भेला हुन्छन् । रातभर गुरुसित मन्त्रोच्चारण गर्दै ‘भगता’ खेल्छन् । गुरुको मन्त्रोच्चारणसँगै जीउ हल्लाउनुलाई भगता भनिन्छ । ‘भूतप्रेत’ झार्दा धामीझmाँक्री यही त्रम दोहोर्‍याउँछन्। कमला नदीमा स्नान गरेर तान्त्रिक विद्या सिद्ध हुने अन्धविश्वास छ उनीहरूमा।

मेलामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, उदयपुर रसीमावर्ती भारतीय क्षेत्रबाट समेत सिकारुहरू ‘धामी विद्या’ सिक्न आउँछन्। उनीहरू नदीमा स्नानपछि कमलेश्वरी देवीको पूजापाठ गर्छन् । मेलाबाट फर्किंदा भाँडोमा कमला नदीको पानी बोक्छन् । मुख्य धामीले त्यही पानी छर्किंदै ‘मन्त्र सिद्धि’ गरिदिएपछि सिकारुहरू सिद्ध कहलिन्छन् । धामीझाँक्री सिद्धिको अर्को डरलाग्दो पाटो हो– बलिका नाममा हत्या ।

गुरु धामीले शक्ति प्राप्त हुने भन्दै सिकारुलाई हौस्याउँछन् । खसीबोका, कुखुराको रगतबाट मन्त्र सिद्धि हुने अन्धविश्वासमा पारी तिनको ‘बलि’ दिन लगाउँछन् । अन्धविश्वासको हद यतिसम्म नाघ्यो गत वैशाख २४ गते एक निर्दोष बालकले ज्यान गुमाउनुपर्‍यो। धनुषा, मिथिला नगरपालिका–६ का अढाई वर्षे समीर (आर्यन) साहको स्थानीय धामी शत्रुघ्न महतोले हत्या गरे ।

यस समाज बोक्सी, छुवाछूत, बलि प्रथा र धामीझाँक्रीलगायत अन्धविश्वासले युगौंदेखि जकडिएको छ। त्यसैले जघन्य अपराधको घटना हुँदासमेत स्थानीय धामीकै पछि लागिरहेका छन् । धामीझाँक्री भने समाजले नै दबाब र जबर्जस्ती गर्दा रोगव्याधी पनि झारफुक गर्न बाध्य रहेको बताउँछन् । धनुषाका एक धामीले भने, ‘धेरैजसो धामीझाँक्री आफैं जान्ने बन्छन् । सब थोक बिगार्छन् । यो हाम्रो तान्त्रिक विद्या हो । आस्था भएर सिकेको तन्त्रले रोग
निको पार्दैन।’