चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।
आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरमा महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेकाथिए ।

नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।
सैनिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्रको विपदको टोली पठाइसकिएको छ ।’

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘जनयुद्ध’ शैलीमा प्रहरी चौकी आक्रमण गरेको थियो। नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको प्रहरी चौकी कब्जाका लागि आक्रमण गरेका हुन्। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए। मध्यराति २५–३० जनाको समूह चौकी पुगेको थियो। तर प्रहरीले पूर्वसूचना अनुसार हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको हो।