काठमाडौ -इस्लाम धर्मावालम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन बुधबार सामूहिक रुपमा नमाज पढेका छन् । इस्लाम धर्मको पर्व इद उल–फित्र काठमाडौ, नेपालगन्ज, कपिलवस्तु लगायत देशभर बुधबार धुमधामले मनाइँदैछ । इदका दिन इस्लाम धर्मावलम्बीहरुले सानादेखि ठूलो सबै बिहानै सफासुग्घर भई नयाँ कपडा लगाएर नमाज पढ्न पुगेका थिए ।

सबैले धार्मिक विधिपुर्वक नमाज पढे । नमाजपछि सबैजना अंगालोमा बाँधिएर गला मिलाउँदै खुशी साटासाट गरेका थिए । गरिब विपन्नलाई दान गरे । छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरु पनि पुगेर धार्मिक विधिपूर्वक सामूहिक नमाज पढेका थिए ।

 

 

 

हिजरी संवतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तिको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुुरु हुन्छ । अन्तिम दिन इदको रुपमा मनाइन्छ । रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएपछिदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन ब्रत बस्ने गर्छन् । इदको अवसरमा इस्लाम समुदायको घरमा मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने प्रचलन रहेको छ ।

तस्बिरहरु: (काठमाडौ, नेपालगन्ज र कपिलवस्तुका दृश्यहरु)